लेखक यात्रीकृत ‘जंगलमा ३३ वर्ष’को परिचर्चा

कवि, उपन्यासकार तथा निबन्धकार धर्तीचन्द्र यात्रीकृत ‘जंगलमा ३३ वर्ष’ पुस्तकको परिचर्चा गरिएको छ । डा. ठाकुरनाथ पन्त स्मृति गुठीद्वारा काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय भृकुटीमण्डपमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा वन तथा पर्यावरणका क्षेत्रका वरिष्ठ संरक्षकहरुले कृतिको समीक्षा गरे ।

वरिष्ठ साहित्यकार शैलेन्द्र साकारले वन तथा निकुञ्ज क्षेत्रमा रही राष्ट्रसेवा गरिरहेका यात्रीले नेपालको वन, वन्यजन्तु र निकुञ्जसहितको तथ्य, तथ्यां र सूचनासहितको कृति प्रकाशित गरी योगदान पुर्याएको बताए ।

वरिष्ठ लेखक युयुत्सु आरडी शर्माले नेपालको वन्यजंगल, वन्यजन्तु र वनस्पतिको संरक्षण क्षेत्रमा लामो अनुभव हासिल गरेका यात्रीको पुस्तक वन्यजन्तुबारे जानकारी प्राप्त गर्ने महत्वपूर्ण दस्तावेज भएको प्रतिक्रिया दिए । वरिष्ठ साहित्यकार श्यामप्रसाद रिमालले अघिल्लो वर्ष फागुनमा प्रकाशन र विमोचन भएको कृतिबारे नौ महिनासम्म चर्चा परिचर्चा हुन सुखद् पक्ष भएको बताए । 

साहित्यकार सविना सिन्धुले यातायात र सूचनाको अभाव रहेका बेलामा बोटविरुवा र वन्यजन्तुको संरक्षणका सन्दर्भमा गर्नुपरेको संघर्ष र भोगाइसहितका पर्यावरण संरक्षणसम्बन्धी तथ्यगत सूचना प्रकाशित गरी यात्रीले राज्यलाई ठूलो सहयोग गरेको बताए । 

पर्यावरणविद् रोशन शेरचनले पुस्तक पढिरहँदा आफू वन र वन्यजन्तुसँगै रहेको भान हुने मात्र नभई त्यस क्षेत्रमा रहँदा भोग्न परेको दुःख कष्ट, उकाली(ओरालीका कथा व्यथा समेटिएको विचार प्रकट गरे । 

काठमाडौं फरेष्ट्री कलेजका उपप्राचार्य डा. हिमलाल श्रेष्ठले वन र पर्यावरणबारे धेरै सूचनाको खानी रहेको पुस्तकमा यस क्षेत्रको अध्ययन गर्न चाहनेलाई ठूलो खुराक भएको बताए । पुस्तकमा बाँदर र पानीको अनुसन्धान, जहाज दुर्घटना र भूकम्पको त्रासदीमा रहन पर्दाका क्षण, स्थान, विषय र प्रसंग उल्लेख रहेको उनले बताए । 



साहित्यकार प्रकाश सिल्वालले जागिरे जीवनको उतारचढावसँगै जंगल, पर्यावरण र निकुञ्जको रक्षामा केन्द्रित पुस्तकमा एउटा सूचना संवाहक पत्रकारको कार्य जिम्मेवारी जस्तै पर्यावरण संरक्षणका क्षेत्रमा गरिएका कार्यसम्बन्धी मिति, तथ्य तथ्यांक सूचना समेटिएको धारणा राखे । 

गुठीका संरक्षक सुष्मा पाण्डे र साहित्यकार उत्तम विचार भेटवालले गुठीले समाज सेवा र साहित्य क्षेत्रमा प्रकाशित पुस्तकको श्रीवृद्धिका लागि सहयोग पुर्‍याउँदै आएको बताए । 



पुस्तकका लेखक यात्रीले राष्ट्र सेवाका सन्दर्भमा लामटाङ, डोल्पा र बर्दिया क्षेत्रमा रहँदा वन क्षेत्रको विकास र विस्तारका लागि गरिएका प्रयास, भोग्नुपरेका समस्या र त्यससम्बन्धी तथ्य तथ्यांक समेटेर पुस्तक प्रकाशित गरेको जानकारी दिए । उक्त पुस्तक छिट्टै अंग्रेजीमा प्रकाशित हुनेछ ।

  • प्रकाशित मिति : पुस २८, २०८० शनिबार १९:२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया