राप्ती बस दुर्घटनामा चालक दोषी, मृत्यु हुने सबैको सनाखत

शुक्रबार दाङको राप्ती नदीमा भएको बस दुर्घटना हुनुमा चालकको लापरबाही दाेषी देखिएको छ । राति साढे १० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमहीमा बस दुर्घटना भएको थियो । 

चालकले इन्ट्री नगरी तीव्रगतिमा कुदाउँदा बस अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । नजिकै प्रहरीको इन्ट्री प्वाइन्टमै नरोकेर तीव्रगतिमा लिएकाले दुर्घटना भएको प्रहरीको निष्कर्ष छ । 

बस दुर्घटनामा सात जनाको घटनास्थलमै र पाँचजनाको उपचारका क्रममा निधन भएको थियो । मृत्यु हुने सबैको सनाखत भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा बाँकेका चारजना, भारतीय नागरिक तीनजना, रुकुमपश्चिम, चितवन, मकवानपुर, काठमाडौं र जुम्लाका एक–एकजना छन् । दुर्घटनामा परी बाँके खजुरा गाउँपालिका–३ का सञ्जय केसी, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, बाँके कोहलपुर–८ का २८ वर्षीय अर्पण थापा छन् ।

त्यस्तै, रुकुम साविक गोतमकोट गाउँपालिका–९ का २५ वर्षीय दीपक कामी, चितवन भरतपुर नगरपालिका–२५ का ३५ वर्षीय अनिल खड्का, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरिका ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम, भौतपुरका ४५ वर्षीय चेतराम सिल्पकार र उत्तर प्रदेशका ३१  वर्षीया मुनेको मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये १० जनाको शव परीक्षण भइसकेको छ भने दुईजनाका आफन्त नआएकाले शव परीक्षण हुनसकेको छैन । शवलाई लमही अस्पतालमा राखिएको छ । 



दुर्घटनामा परी २४ जना घाइते भएका थिए । घाइतेमध्ये चारजना गम्भीर, ११ जना मध्यम र नौजनाका अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । घाइतेमध्ये तीनजनाको उपचारपछि डिस्चार्ज भइसकेको छ । घाइतेमध्ये आठ जनाको बुटवल र १३ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।



  • प्रकाशित मिति : पुस २८, २०८० शनिबार २२:४४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया