रोहित-रिंकुले तोडे दीपेन्द्र र कुशलको विश्वकीर्तिमान

भारतीय टिमका कप्तान रोहित शर्माले टी–२० आई अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकीर्तिमान बनाएका छन् । उनले यस ढाँचामा पाँच शतक हिर्काउने ब्याटरको कीर्तिमान बनाएका हुन् । रोहितले यो उपलब्धि बुधबार राति सम्पन्न अफगानिस्तानविरुद्धको टी–२० आई सिरिजको तेस्रो खेलमा ६९ बलमा अविजित १२१ रनको इनिङ खेलेसँगै हासिल गरे । 

उनी अब टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक शतक बनाउने ब्याटर बनेका छन् । यसअघि रोहितसहित भारतकै सूर्यकुमार यादव र अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको नाममा ४–४ शतक थियो । 

रोहितलेसन् २०१५ मा दक्षिण अफ्रिका, २०१७ मा श्रीलंका, २०१८ मा वेस्ट इण्डिज र इंग्ल्याण्डविरुद्ध शतकीय पारी खेलेका थिए । यस्तै, उनले अफगानिस्तानविरुद्ध टी–२० आई करियरकै उच्च स्कोरसमेत बनाए । यसअघि यो ढाँचामा उनको उच्च स्कोर ११८ रन थियो । त्यस्तै, रोहित र रिंकु सिंहले अफगानिस्तानसँगको म्याचमा नेपाली ब्याटरको कीर्तिमान पनि भंग गरे । 

उनीहरूले पाँचौं विकेटका लागि सर्वाधिक ठूलो साझेदारी गर्ने कीर्तिमान भंग गरेका हुन् । अफगानिस्तानविरुद्ध रोहित र रिंकुबीच पाँचौं विकेटका लागि ९५ बलमा अविजित १९० रनको साझेदारी बन्यो । यसअघि यो कीर्तिमान दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको नाममा थियो । उनीहरूले गत वर्ष हङकङविरुद्धको खेलमा पाँचौं विकेटका लागि १ सय ४५ रनको साझेदारी गरेका थिए । 



यस्तै, रोहित र रिंकुले डेथ ओभरमा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको कीर्तिमान पनि भंग गरे । उनीहरूले अफगानिस्तानविरुद्ध अन्तिम पाँच ओभरमा १०५ रन बनाउँदै नेपालको कीर्तिमान भंग गरेका हुन् । यसअघि गत वर्ष नेपालले मंगोलियाविरुद्ध डेथ ओभरमा ८९ रन बनाएको थियो ।

यस्तै, भारतले अन्तिम दुई ओभरमा सर्वाधिक रन बनाउने मामलामा पनि नेपालको कीर्तिमान तोड्यो । भारतले अन्तिम २ ओभरमा ५८ रन बनाउँदै नेपालको कीर्तिमान तोडेको हो ।



यसअघि नेपालले टी–२० आई खेलको अन्तिम दुई ओभरमा ५५ रन बनाउँदै इतिहास रचेको थियो । नेपालले सो उपलब्धि गत वर्षको सेप्टेम्बरमा भएको १९ औं एसियाली खेलकुलमा मंगोलियाविरुद्ध हासिल गरेको थियो । 


  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १२:२९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया