अष्ट्रेलियाली राजदूतले भने– उच्च शिक्षापछि नेपाली विद्यार्थीलाई स्वदेश फर्कन उत्प्रेरित गर्छु
अष्ट्रेलियामा ६० हजार विद्यार्थीसहित एक लाख २० हजार नेपाली

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा नेपालका लागि अष्ट्रेलियाका राजदूत महामहिम फेलिसीटी जेन भोल्कले शिष्टाचार भेटघाट गरेका छन् ।  

भेटघाटका क्रममा शुभकामना आदानप्रदानपछि दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहायता, प्रवासी नेपाली, पर्यटन लगायतका विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

उपराष्ट्रपति यादवले दुई देशबीच सन् १९६० फेब्रुअरी १५ मा द्विपक्षीय सम्बन्ध स्थापना भएयता आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगका आधारमा कायम रहेको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा थप फराकिलो र गहिरो बन्दै गएकोमा खुसी व्यक्त गरे । 

'अष्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता (ओडिए)मा वृद्धि गरेकोमा खुसी लागेको छ,' उनले भने, 'सामुदायिक वन कार्यक्रम र नेपालमा वनको दिगो व्यवस्थापनमा अष्ट्रेलियाको महत्वपूर्ण योगदान उच्च प्रशंसनीय छ ।' 

उनले विभिन्न क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा नेपाल र अष्ट्रेलियाबीचको घनिष्ठ सहयोग रहँदै आएको उल्लेख गरे । उनले भने, 'दुवै देशले बहुपक्षीयताको संरक्षण र प्रवर्द्धन गर्न साझा हित राख्ने गर्दछ र न्यायपूर्ण, समानुपातिक, समावेशी र नियममा आधारित विश्व व्यवस्थालाई समर्थन पनि गर्दछन् ।' 

अष्ट्रेलियाका महामहिम राजदूत फेलिसीटी जेन भोल्कले दुई देशबीच जनस्तरको सम्बन्धसँगै सरकारसँग बलियो र गहिरोसम्बन्ध रहेको बताइन् । उनले अष्ट्रेलियामा ६० हजार नेपाली विद्यार्थीसहित एक लाख २० हजार नेपाली बसोबास गर्दै आएको जानकारी दिइन् । 'नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गरेपश्चात् नेपालमै फर्किएर नेपालको विकासमा टेवा पुर्याउनका लागि उनीहरुलाई उत्प्रेरित गर्ने प्रयासमा छु । नेपाल र अष्ट्रेलियाका शैक्षिक संस्थाबीच सहकार्यले ‘ड्युअल डिग्री’ कार्यक्रम सञ्चालन गर्दै नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या बढाउन सकिन्छ । यसका लागि हालै काठमाडौँ विश्वविद्यालय र क्राउन इन्स्टिच्युटबीच समझदारी भएको छ,' उनले भनिन् । 





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १९:२६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया