कोशी प्रदेशमा शैलजा आचार्य हृदयरोग केन्द्रको सेवा सुरु

कोशी प्रदेश सरकारले विराटनगर–१० स्थित शैलजा आचार्य हृदयरोग केन्द्र उपचार सेवा आजदेखि सञ्चालनमा ल्याएको छ । 

कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङ, मुख्यमन्त्री केदार कार्की र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज संयुक्त रूपमा केन्द्रको उद्घाटन गरेका हुन् । 

प्रस्तावित एक सय शय्या हुने सो केन्द्रका लागि हाल पाँच करोड ५० लाख बजेट छुट्याएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले जानकारी दिइन् । केन्द्रमा रहेका पाँच चिकित्सक अन्य स्वास्थ्यकर्मीले मुटु रोगका साथै अन्य साधारण बिरामीको उपचार सेवा प्रदान गर्नेछन् । 

सो केन्द्रमा आगामी छ महिनाभित्र आवश्यक अन्तर्राष्ट्रिय मापदण्डका परीक्षणको सामग्री उपलब्ध हुने उनले बताइन् । 

उद्घाटनका अवसरमा प्रदेशप्रमुख खापुङले केन्द्रको स्थापनाबाट विराटनगर स्वास्थ्य केन्द्रका रुपमा विकसित भएको बताए । उनले केन्द्रमा कोशी, मधेस प्रदेशका साथै सीमावर्ती भारतीय क्षेत्रका जनतालाई उपचारमा सहज हुनाका साथै यस क्षेत्रको आर्थिक चलायनमा सहयोग पुग्ने धारणा राखे । 


    
मुख्यमन्त्री केदार कार्कीले प्रदेशका सात लाख उच्च रक्तचापबाट पीडित जनतालाई बचाउन हृदय रोग केन्द्र स्थापना गरेको बताए । उनले प्रदेशमा दुई लाख मुटुको बिरामी रहेको चर्चा गर्दै उपचार मात्र होइन, यो रोग कसरी लाग्छ भन्ने अनुसन्धानका लागि समेत बजेट छुट्याएको बताए । 



मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले मानवीय विकासका लागि चिकित्सक, इन्जिनियर, पशु  र  स्वास्थ्य विज्ञमा निःशुल्क अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिए । सरकारले सुशासन कायम गर्न र नागरिकको जीवनस्तर उकास्नका लागि कोही कसैसँग कुनै सम्झौता नगर्ने प्रण उनले व्यक्त गरे । 

कांग्रेस नेता डा. कोइरालाले सेवा प्रदान गर्ने संस्थामा राजनीतिक नगर्न सबैसँग आग्रह गरे । मुलुकमा रहेका दक्ष जनशक्तिको विदेश पलायन रोक्न दलहरु गम्भीर रुपमा लाग्नुपर्नेमा जोड दिँदै उनले केन्द्रलाई तालिम केन्द्रका रुपमा समेत विकास गरेमा यसको उपादेयता मुलुकभर पुग्ने विश्वास व्यक्त गरे । 



संघीय पूर्वमन्त्री अमनलाल मोती, प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, पूर्वमन्त्री तिलकुमार मेयाङ्वो, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति डा. भूपेन्द्र बस्नेत, मुटुरोग वरिष्ठ चिकित्सक डा. भगवान कोइराला र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्ष राजेन्द्र राउतले केन्द्रको स्थापनाबाट प्रदेशका जनताले स्तरीय सेवा पाउने विश्वास व्यक्त गरे । 

  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार २२:३९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया