अफगानिस्तानलाई हराउँदै नेपाल यू–१९ विश्वकपको सुपर सिक्समा

नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो ।

अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍याे । निकै रोमाञ्चक बनेको खेलमा सुवास भण्डारीले चौका हिर्काउँदै नेपाललाई जित दिलाए । उनले २९ बलमा ९ रन जोडे । 

नेपालका कुन ब्याटर कसको बलमा आउट ? 

नेपालले नवौँ विकेटको रूपमा आकाश चन्दलाई गुमाएको थियो । उनी ४४ ओभरको अन्तिम बलमा फरिदुन दाउदजईको बलमा एक रनमा बोल्ड भए । नेपालले आठौँ विकेटको रूपमा दीपक बोहरालाई गुमाएको थियो । उनी ४१.२ ओभरमा फरिदुन दाउदजईको बलमा बोल्ड आउट भए । दीपकले आज ४२ बलमा ४ चौकासहित २७ रन बनाए । 

सातौं विकेटको रूपमा कप्तान देव खनाल आउट भए । उनी ३६.३ ओभरमा एएम गजानफरको बलमा आउट भएका हुन् । देवले अफगानिस्तानविरुद्ध ८९ बलमा ७ चौकाको मद्दतमा ५८ रनको पारी खेले । जारी विश्वकपमा देवको यो पहिलो अर्धशतकीय पारी हो ।   

नेपालले छैटौँ विकेटको रूपमा दीपेश कँडेललाई गुमायो । उनी २७.४ ओभरमा नसीर खान मारोफखिलको ओभरमा ४ रनमा एल्बीडब्लू आउट भए । नेपालले पाँचौं विकेटको रूपमा दीपकप्रसाद डुम्रेलाई गुमायो । उनी २६.५ ओभरमा ५ रनमा आउट भए । डुम्रेलाई अरब गुलले पवेलियन फर्काए । 



नेपालले चौथो विकेटको रूपमा आकाश त्रिपाठीलाई १६ रनमा गुमाउन पुग्यो । उनी २३.१ ओभरमा अफगानी कप्तान नसीर खान मारोफखिलको बलमा क्याच आउट भए । आकाश र कप्तान देव खनालबीच ४९ रनको साझेदारी बन्यो । 

२४ रनमा तीन विकेट गुमाएको अवस्थाबाट देव र आकाशले नेपालको पारी सम्हालेका थिए । नेपालले आज सस्तैमा तीन विकेट गुमाएको थियो । नेपालले तेस्रो विकेटको रूपमा ओपनर विपिन रावललाई गुमाउन पुग्यो । उनी ८.१ ओभरमा खलील अहमदको बलमा २ रनमा एल्बीडब्लू धरापमा परे । त्यसअघि ६.३ ओभरमा अलराउन्डर गुलशन झा आउट भए । 



उनी ६.३ ओभरमा एक रनमा बोल्ड भएका हुन् । गुलशनलाई पनि खलील अहमदले आउट गरे । नेपाल पहिलो विकेटको रूपमा अर्जुन कुमाललाई गुमाउन पुग्यो । उनी ४.२ ओभरमा १० रनमा फरिदुन दाउदजईको बलमा बोल्ड भए । 

त्यसअघि दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १ सय ४५ रनको अलआउट भयो । 

उसका लागि एएम गजानफरले ३७, कप्तान नसीर खान मारोफखिलले ३१, अरब गुलले २९ र हसन इसाखिलले २० रन बनाए । अफगानिस्तानलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि आकाश चन्दले सानदार बलिङ गरे । 

उनले ५ ओभरमा ३४ रन दिएर सर्वाधिक पाँच विकेट लिए । यस्तै, दीपेश कँडेलले दुई, सुवास भण्डारी, गुलशन झा र तिलक भण्डारीले एक/एक विकेट हात पारे । 

नेपाल रहेको समूह ‘डी’ बाट न्यूजिल्याण्ड र पाकिस्तान यसअघि नै सुपर सिक्समा प्रवेश गरिसकेका छन् । 
 


  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार २०:२९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया