नेपालले यू–१९ विश्वकपको सुपर सिक्समा भारत र बंगलादेशसँग खेल्ने

नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै  नेपाल सुपर सिक्समा प्रवेश गरेको हो ।  

अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४ दशमलव चार ओभरमा ९ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेले । उनले ८९ बल खेल्ने क्रममा सात चौकाको मद्दतमा ५८ रन बनाए । 

यस्तै दिपक बोहराले २७, आकाश त्रिपाठीले १६, अर्जुन कुमालले १० तथा सुवाश भण्डारीले अविजित नौ रन बनाए । बलिङतर्फ अफगानिस्तानका फरिदुन दाउदजाइले सर्वाधिक तीन विकेट लिए ।  

त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रन बनायो ।  उसका लागि ब्याटिङ गर्ने क्रममा अल्लाह मोहम्मद घजानफारले सर्वाधिक ३७ रन बनाए ।  

बलिङतर्फ नेपालका आकाश चन्द एक्लैले पाँच विकेट लिए । उनले ८ ओभरमा ३४ रन दिएर ५ विकेट लिएका हुन् । नेपालको जितमा नायक सावित भएका उनी प्लेयर अद म्याच घोषित भए । यस्तै, दीपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक/एक विकेट लिए । 

नेपालले अब समूह ‘ए’ मा रहेका भारत, बंगलादेश र आयरल्याण्डसँग खेल्नेछ । आइसिसीको नियमअनुसार आफ्नो स्थानको टोलीले अर्को समूहबाट आउने त्यही स्थानको टोलीसँग खेल्नु पर्दैन । त्यसैले समूह ‘ए’ को तेस्रो हुने आयरल्याण्ड र अमेरिकामध्ये एक टिमसँग नेपालले खेल्ने छैन ।  



यस्तै, सुपर सिक्समा समूह चरणको अंक पनि जोडिनेछ । यस्तो अवस्थामा नेपालले सेमिफाइनलको सम्भावना जीवित  राख्न दुवै खेलमा जित निकाल्नुपर्नेछ । दुवै समूहका शीर्ष दुई/दुई टोलीले सेमिफाइनलको यात्रा गर्नेछन् ।   




  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार २२:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया