logo-img

नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा
फाइल तस्बिर

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो । 

सवारीसाधन दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भएको छ । मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इ. कृष्ण आचार्यका अनुसार ६० मिटर अग्लो भित्तोको एकातर्फको भाग ११ मिटर र अर्कोतर्फ १४ मिटर तल झरेको छ । उनका अनुसार मुग्लिनतर्फ १४ मिटर बाँकी छ भने खोलातर्फ ११ मिटर बाँकी छ । 

पहिलो पटक तीन साता सवारीसाधन रोकेर भित्तो काटिएको थियो । काम नसकिएपछि दोस्रो पटक थप गरिएको तीन साता यही माघ २० गते सकिँदैछ । दोस्रो पटक म्याद थपेपछि चार दिन काम गर्न नपाएको भन्दै उनले थोरै दिनमात्रै थप गर्नुपर्ने हुनसक्ने बताए । उनको भनाइमा माघभित्रमा भित्तो काट्ने सबै काम सकिन्छ । 



पहाडको भाग अरु तल झरेपछि जाली लगाएर भित्तो काट्दा सवारीसाधन रोक्नु पर्दैन । आक्कलझुक्कल थोरै समय रोकेर काम गर्नुपर्ने अवस्था आए पनि यसरी सवारीसाधन रोक्न नपर्ने उनले बताए । काम प्रभावकारी हुँदै गएको भन्दै उहाँले विस्फोट गर्नुपर्ने अवस्था टरेको बताए । 

आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । उनका अनुसार टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो । 

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत एक अर्ब २८ करोड रुपैयाँ छ । अनक कन्सट्रक्सनले पुलको काम गरिरहेको छ । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन् । 



जुगेडी–खहरी र सिमलतालका तीन पुल एक महिनाभित्रमा सञ्चालनमा आउने आचार्यले जानकारी दिए । उनका अनुसार काली र नाम्चे खोलाको पुल थप तीन महिनामा सञ्चालनमा आउने छन् । मुग्लिन नजिकको १ नम्बर पुल असारसम्ममा सञ्चालनमा आउने उनले बताए ।  



  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार १२:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया