शहीदको बलिदानबाटै वर्तमान संविधान र सर्वोत्कृष्ट शासन व्यवस्था प्राप्त : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले शहीदको बलिदानीबाटै वर्तमान संविधान र सर्वोत्कृष्ट शासन व्यवस्था प्राप्त भएको बताएका छन् । शहीद दिवसको सन्दर्भमा शुभकामना सन्देशमार्फत् राष्ट्रपति पौडेलले शहीदहरूको बलिदानकै आधारमा नेपालीले आफ्नो संविधान आफैँ बनाउन सफल भएको बताएका छन् । 

‘जनता आफैंले बनाएको संविधानमार्फत हामीले सर्वोत्कृष्ट शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौँ । संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ,’ राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्, ‘संविधान र गणतन्त्रले परिलक्ष्य गरेको यही मर्मलाई आत्मसात गर्दै  दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने मैले ठानेको छु ।’ 

उनले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना राष्ट्रियताको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सबै शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरेका छन् ।

‘आज शहीद दिवस देशका लागि प्राण आहुति दिने शहीदहरूको विशेष सम्झाना गर्ने दिने हो । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न काल खण्डहरूमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाइँदै आइएको छ,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खाँतिर समर्पण गर्नु नै सहादत हो । यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम नागरिक र सम्बद्ध सबैलाई नेपाल र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका शहीदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।’





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार ८:५८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया