व्यवसायीलाई काठमाडौं महानगरको जवाफ- ‘न्युरोडमा भन्दा धेरै पार्किङस्थल निःशुल्क दिएका छौँ’

न्युरोड क्षेत्रमा सडकमा पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले विकल्पमा २२०० मोटर साइकल र चार पाङ्ग्रे सवारी साधनको पार्किङ गर्ने ठाउँ उपलब्ध गराएको दाबी गरेको छ । व्यवसायीले विकल्प दिनुपर्ने भनिरहेका बेला महानगरपालिकाले २ हजार २ सय वटा २ पाङ्ग्रे र ७ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराएको दाबी गरेको हो ।

यो संख्या साबिक न्युरोडको कालोपत्र सडकमा गरिने सवारी पार्किङको संख्याभन्दा धेरै हो । अहिले धरहराको पार्किङ भवनमा उपलब्ध गराएको स्थानमा मात्र पनि १ हजार ५ सय २ पाङ्ग्रे सवारी साधन अट्न सक्छन् ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘यससँगै काठमाडौं टावर (साबिक पुरानो बसपार्क) मा ७ सय वटा २ पाङ्ग्रे र ३ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान उपलब्ध गराइएको छ । यो निःशुल्क पार्किङ सेवा हो । यसबाहेक नयाँ सडकमा पार्किङ प्रयोजन देखाएर निर्माण भएका धेरै व्यापारिक भवनहरू छन् । ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सकिन्छ ।’

उनले महानगरपालिकाले पार्किङका लागि विकल्प नै नदिएको आरोप सत्य नभएको बताए । महानगरका सडक सुरक्षा विज्ञ प्रशान्त खरेलका अनुसार न्युरोडको कालोपत्रे सडकमा १ हजार ३ सय वटा २ पाङ्ग्रे र ३० वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्थ्यो ।

जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको कालोपत्रे सडकमा ३ सयवटा २ पाङ्ग्रे र ५ वटा ४ पाङ्ग्रेका, प्युखामा १५० वटा २ पाङ्ग्रे र ६ वटा ४ पाङ्ग्रे, खिचापोखरीमा १५० वटा २ पाङ्ग्रे र १५ वटा ४ पाङ्ग्रे, वीर अस्पताल महावौद्धमा १५० वटा २ पाङ्ग्रे सवारी पार्किङ गर्ने क्षमता थियो । त्यसैअनुरूप पार्किङ हुने गरेको थियो । 

‘महानगरपालिकाले अहिले उपलब्ध गराएको स्थानमा मात्र पार्किङ गर्दा पनि नयाँ सडकको कालोपत्र सडकलाई सहज आवागमनका लागि प्रयोग गर्न सकिन्छ । सडक किनारामा पैदल यात्रीले सहजतापूर्वक हिँड्न पाउँछन्,’ खरेलले भने ।





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार ११:१८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया