यू–१९ विश्वकपमा भारतविरुद्ध नेपालको १०० रन पूरा
कप्तान देव खनाल, तस्बिर : आइसिसी

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा भारतले दिएको २ सय ९८ रनको बलियो लक्ष्य पछ्याउनेक्रममा नेपालले १ सय रन पूरा गरेको छ । नेपालले ३३.२ ओभरमा ७ विकेटको क्षतिमा एक सय रन पूरा गरेको हो । 

यो अवस्थासम्म अर्जुन कुमाल २६, दीपक बोहरा २२, उत्तम थापा मगर ८, विशालविक्रम केसी र गुलशन झा एक/एक, दीपक डुम्रे र दीपेश कँडेल शून्यमा आउट भइसकेका छन् । क्रिजमा अहिले कप्तान देव खनाल र सुवास भण्डारी रहेका छन् । 

त्यसअघि ब्लोमफन्टेनमा टस जितेर ब्याटिङ रोेजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९७ रन बनायो । उसका लागि सचिन दास र कप्तान उदय सहारणले शतकीय इनिङ खेले । 

१०१ बलमा ११ चौका र तीन छक्का हिर्काएका दासले सर्वाधिक ११६ रन बनाए । यस्तै, सहारणले १०७ बलमा ९ चौकाको मद्दतमा १ सय रनको पारी खेले । यस्तै, आदर्श सिंहले २१, प्रियांशु मोलियाले १९ र अर्शिन कुलकर्णीले १८ रन जोडे ।

नेपालका लागि गुलशन झाले १० ओभरमा ५६ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, आकाश चन्दले एक विकेट हात पारे । नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो ।

यता भारतले सुपर सिक्सको पहिलो खेलमा न्यूजिल्याण्डविरुद्ध २१४ रनको जित निकालेको थियो । नेपाल सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । भारतले भने सेमिफाइनलको यात्रा लगभग सुरक्षित गरेको छ ।  





  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार २०:५७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया