logo-img

युवराज खतिवडा भन्छन्– ‘मुलुक गहिरो आर्थिक मन्दीमा जाँदैछ’
फाइल तस्बिर

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा भएको सुधारलाई देखाएर अर्थतन्त्रमा सुधार आयो भन्न नसकिने बताएका छन् ।   

मंगलबार नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको मुलुकको वर्तमान आर्थिक परिसूचकमा विदेशी मुद्रा सञ्चिति र विप्रेषण (रेमिट्यान्स) मा वृद्धि भएको तथ्याङ्कलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने बताएका हुन् । पूर्वअर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र र बाह्य क्षेत्र मध्ये अहिले राम्रो भएको बाह्य क्षेत्र मात्रै भएको दाबी गरे ।

उनले बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक रुपमा अर्थतन्त्रमा सुधार नआएको भन्दै सरकारले अर्थतन्त्र लयमा आयो भनेर भन्नु धर्म निर्वाह गर्नु मात्रै भएको टिप्पणी गरे । खतिवडाले सरकारको आन्तरिक खर्च, वित्तीय प्रणालीमा हुने खर्च र उत्पादन वृद्धि नहुँदा बाह्य क्षेत्रबाट हुने मागमा कमी हुँदा विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको बताए ।



उनले उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र गरी तीनवटा क्षेत्रमा आएको मन्दी र समस्याको परिणाम स्वरुप चौथो वाह्य क्षेत्रमा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको दाबी गरे । 

पूर्वअर्थमन्त्री खतिवडाले दुई वर्षको बीचमा निर्यात ४० प्रतिशतले घटेको भन्दै चालू आर्थिक वर्ष सकिँदा अढाई वर्ष अगाडिको भन्दा निर्यात आधा हुने अवस्था देखिएको बताए ।  

उनले वैदेशिक रोजगारीमा हरेक वर्ष ८ लाख नेपाली युवाहरू जाने र पछिल्लो दुई वर्षमा १५ लाख युवा विदेश गएकोले उनीहरूले पठाएको रेमिट्यान्सको कारण विदेशी मुद्राको सञ्चिति बढेको बताए । उनले पर्यटकको आगमन वृद्धि भयो भन्दैमा पनि सरकारले सन्तुष्टि लिन नमिल्ने पनि बताए । 



खतिवडाले पर्यटकले खर्च गर्ने र लगानीको भएको लाभलाई हिसाब नगरी आम्दानीको कुरा गर्नुको अर्थ नहुने तर्क गरे । उनले निर्माण क्षेत्र नकारात्मकरूपमा प्रभावित भएको र आयात कम भएपछि ढुवानी तथा यातायात व्यवसाय अवरुद्ध रहेको बताए । खतिवडाले चालू आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धि हुन नसक्ने बताए । उनले अघिल्लो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भएको भए अहिले ४ प्रतिशतको वृद्धि  ठीक मान्न सकिने उल्लेख गरे । 

खतिवडाले सरकारको राजश्व चालू आर्थिक वर्षमा ३ देखि ४ खर्बले कम हुने संकेत रहेकोले पनि देश गहिरो आर्थिक मन्दीमा जाने बताए । उनले १४ खर्ब २२ अर्ब राजश्व संकलन गर्ने सरकारको लक्ष्य भए पनि ११ खर्ब पनि राजश्व उठाउन मुस्किल रहेको बताए । उनले वित्तीय प्रणालीमा खराब कर्जा बढ्दै जाँदा बैंक कर्जा दिन नसक्ने अवस्थामा रहेको दाबी पनि गरे ।  



  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार ११:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया