यू–१९ विश्वकपको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । 

सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई स्तब्ध बनाएको थियो । भारतले हालसम्म पाँचपटक यू–१९ विश्वकपको उपाधि जितेको छ । भारतले आठपटक फाइनलमा स्थान बनाउँदा पाँचपटक उपाधि जितेको हो । भारतीय टोली कीर्तिमानी छैटौँपटक च्याम्पियन बन्ने लक्ष्यका साथ अस्ट्रेलियाविरुद्ध मैदान उत्रनेछ ।

भारतले पहिलोपटक सन् २००० मा उमेर समूहको विश्वकप उपाधि जितेको थियो । उक्त भारतीय टोलीमा मोहम्मद कैफ कप्तान  थिए । यसपछि भारत सन् २००६ को यू–१९ क्रिकेट विश्वकपको फाइनलमा पुग्यो । तर, ऊ फाइनल खेलमा पाकिस्तानसँग पराजित भयो । विराट कोहलीको कप्तानीमा रहेको भारतीय टोलीले सन् २००८ को अन्डर–१९ क्रिकेट विश्वकप जितेको थियो । 

त्यसपछि सन् २०१२ मा भारतीय टोली तेस्रोपटक च्याम्पियन बन्यो । उक्त भारतीय टोलीमा उन्मुक्त चन्द कप्तान थिए । यस्तै, इशान किशनको नेतृत्वमा रहेको टोली यू–१९ क्रिकेट विश्वकपको फाइनलमा पुगे पनि भने उपाधि जित्न सकेन ।

त्यसपछि भारतीय टोली यू–१९ क्रिकेट विश्वकप २०१८ को फाइनलमा पुगेको थियो । त्यसपटक पृथ्वी शाको कप्तानीमा रहेको भारतले उपाधि जित्न सफल भयो । भारतीय टोलीले पाँचौंपटक अन्डर–१९ क्रिकेट विश्वकप २०२२ को उपाधि जितेको थियो । त्यतिबेला भारतीय टिमको नेतृत्व यश धुलले गरेका थिए । यसपटक भारतीय टिमको कप्तानी उदय सहारनले गरिरहेका छन् ।

अस्ट्रेलियाले सन् १९८८ मै यू–१९ विश्वकपको उपाधि जितेको थियो । त्यसपछि उसले २००२ मा र २०१० मा उपाधि जित्यो । अस्ट्रेलिया चौथो उपाधिको खोजीमा छ । यू–१९ विश्वकपमा अहिलेसम्म भारत र अस्ट्रेलिया दुईपटक उपाधि भिडन्त गर्दा दुवैपटक भारत विजयी भएको इतिहास छ ।



यसपटक पनि भारत अस्ट्रेलियाविरुद्ध आफ्नो अपराजित यात्रा कायमै राख्दै उपाधि जित्ने सोचमा छ । अस्ट्रेलिया भारतलाई स्तब्ध बनाउँदै चौथोपटक यू–१९ विश्वकपको उपाधि जित्ने दाउमा छ । 



  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार ९:१०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया