logo-img

राजविराज कारागारको शौचालयमा १९ वर्षीय बन्दी मृत फेला
फाइल तस्बिर

बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् । राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल आज मृत अवस्थामा फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए ।

उनका अनुसार मण्डलको शव कारागारभित्रको शौचालयमा झुन्डिएको अवस्थामा आज बिहान फेला परेको हो । गत १३ साउनको राति १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल गत ११ भदौदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए ।

बालिकालाई घरबाट जबरजस्ती तानेर ५ सय मिटर पूर्वपोखरीको डिलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएक थिए । 



हनुमाननगर कंकालिनी–६ का २३ वर्षीय देवनाथ मण्डल, २३ वर्षीय श्यामसुन्दर मण्डल र २० वर्षीया जसोधाकुमारी मण्डलले हातखुट्टा समातेपछि देवेन्द्रले बालिकाको सिउँदोमा सिन्दुर हालेको पीडितका बुबाको भनाइ छ।  

जिल्ला प्रहरी कार्यालयले मण्डललाई गत १७ साउनमा गरेको थियो । प्रहरी कार्यालयमा गत १८ साउनमा बलात्कारको उजुरी दर्ता भएकोमा सप्तरी जिल्ला अदालतमा गत १० भदौमा अभियोगपत्र दायर भएको थियो । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले मण्डललाई भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा राख्ने आदेश दिएको थियो । 

पासोमा झुन्डिएर आत्महत्या गरेका मण्डलको घटना थाहा पाएलगत्तै कारागार प्रशासनले परिवारलाई जानकारी दिएको निमित्त कारागार प्रशासक दासले बताए । परिवारका सदस्य आएपछि शवको मुचुल्का गरिने दासले जानकारी दिए ।  





  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार १३:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया