logo-img

संखुवासभा कैदी मृत्यु घटना : पीडित परिवारले राहत पाएनन्

गत साउन २४ गते संखुवासभाको जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट मारिएका पीडितका परिवारले अहिलेसम्म पनि राहत पाएका छैनन् । 

जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका संखुवावासभा मादी नगरपालिका–५ का ३० वर्षीय प्रकाश तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो । कारागारबाट भाग्न खोजेको आरोपमा दुईजना कैदीलाई नियन्त्रणमा लिएर सुरुमा प्रहरीले कुटपिट गरेका र कारागारभित्र बुझाएपछि त्यहाँका कैदीलेसमेत कुटपिट गरेर यातना दिएको प्रमाणित भएको थियो ।  

घटनालगत्तै जिल्ला प्रशासन कार्यालय संखुवासभामा बसेको पीडित पक्ष र सरोकारवालाबीचको छलफलमा पीडित परिवारले राहत तथा क्षतिपूर्तिको माग गरेका थिए । गत मंसिर २४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले कुटपिटबाट मारिएका दुई कैदीका परिवारलाई क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गरिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । 



यस सम्बन्धमा गृह मन्त्रालयबाट हालसम्म कुनै पनि निर्णय नआएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ । 

हत्यामा संलग्नताको आरोपमा सात प्रहरी र आठजना कैदीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । जिल्ला अदालतको भदौ २७ गतेको आदेशले सात प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदीलाई जिल्ला कारागार, तेह्रथुम पठाएको थियो । 

कुटपिटबाट मारिएका पीडित परिवारले क्षतिपूर्ति माग गर्दै गत भदौ २० गते गृह मन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाएका थिए । 





  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार २२:३९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया