सानदार पुनरागमनले उत्साहित अनिल साह [भिडियोसहित]
तस्बिर : रासस

निरन्तर मिहिनेतका साथै दृढ संकल्प गरे त्यसको नतिजा एक न एक दिन अवश्य मिल्छ । अहिले यस्तै भएको छ राष्ट्रिय क्रिकेट टिमका ब्याटर अनिल साहको करियरमा । उनी लामो समय राष्ट्रिय टिम बाहिर रहे । कहिले चोट त कहिले खराब प्रदर्शनले अनिललाई सताइरह्यो । तर, उनले राष्ट्रिय टिममा पुनरागमन गर्न आवश्यक पर्ने मिहिनेतमा भने कुनै कसर बाँकी राखेनन् । 

अनिलले कहिले भारत त कहिले नेपालमै अभ्यास जारी राखे । रत उनले नतिजा पनि राम्रो हात पार्न थालेका छन् । दुई वर्षपछि राष्ट्रिय टिममा मौका पाएका अनिलले क्यानडाविरुद्धको एकदिवसीय श्रृंखलामार्फत पुनरागमन गरे ।

तस्बिर : क्यान

गत साता भएको सो सिरिजमा उनले दोस्रो खेलमा मौका पाए । ओपनरको जिम्मेवारी सम्हालेका अनिलले आक्रामक ब्याटिङ गरे । उनले १९ बलमै अर्धशतक बनाउँदै टिमलाई सिरिज दिलाउँदा समर्थकको मन जिते । 

योसँगै अनिल एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने नेपाली ब्याटर बने । क्यानडाविरुद्धको सिरिज नेपालले ३–० ले ‘क्लिन स्विप’ गर्नेक्रममा तेस्रो खेलमा उनले थप सानदार ब्याटिङ गरे । सो खेलमा अनिलले १२४ बलमा १२ चौका र दुई छक्कासहित अविजित ११२ रनको शतकीय पारी खेले । उनले यही श्रृंखलामा नै अन्तर्राष्ट्रिय क्रिकेट करियरमा पहिलोपटक अर्धशतक र शतक बनाए । 

क्यानडाविरुद्धको सिरिजमा अनिलले दुई खेलमा सर्वाधिक १६२ रन बनाए । उनको प्रदर्शनबाट मुख्य प्रशिक्षक मोन्टी देसाई उत्साहित भए । र, उनले अनिललाई आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजका लागि टोलीमा समावेश गरे ।



तस्बिर : क्यान

अनिलले पनि प्रशिक्षकलाई निराश बनाएनन् । जारी विश्वकप लिग–२ अन्तर्गत पहिलो खेलमा नामिबियाविरुद्ध उनले ६ बलमा २ चौकासहित ८ रन जोडे । श्रृंखलाको दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध फेरि अनिल लयमा फर्किए । 



नेपाललाई ९ विकेटको जित दिलाउनेक्रममा उनले नेदरल्याण्ड्सका बलरलाई पूरै दबाबमा राखे । र, तीन महिनाअघि विश्वकप खेलेको नेदरल्याण्ड्सविरुद्ध अनिलले ३६ बलमा ६ चौका र ४ छक्कासहित अविजित ५७ रनको इनिङ खेले । क्यानडाविरुद्ध ओपनिङ गरेका उनले जारी सिरिजमा तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका छन् । र, अनिल दुवै नम्बरमा फिट देखिएका छन् । 

तस्बिर : क्यान

सानदार लयमा रहेका उनले अब लगातार टिममा स्थान बनाउने सम्भावना बढेको छ । अनिल विगतभन्दा मैदानमा थप आक्रामकरूपमा प्रस्तुत भइरहेका छन् । साथै, उनीको सर्ट छनोटमा सुधारका साथै ब्याटिङमा परिपक्वता देखिएको छ । 

  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार ८:८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया