मन्त्री शर्माको दाबी : भ्रष्टाचारको छानबिन गर्न सरकारको तर्फबाट पूर्ण सहयोग छ
फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

सोमबार राष्ट्रिय समाचार समिति (रासस) को ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले अख्तियार गरेअनुरूपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।  

उनले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताइन् । मन्त्री शर्माले विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि पत्रकारिता र राजनीतिक क्षेत्रले सँगसँगै संघर्ष गरेको भन्दै अब राजनीतिक उपलब्धिको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर/अवस्था बदल्नका लागि पनि पत्रकारिता र राजनीतिक क्षेत्र सँगसँगै हुनु जरुरी रहेको बताइन् ।

उनले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित रहेर गणतन्त्रको स्थायित्व र जनताको जीवन रूपान्तरणमा सिंगो मुलुकलाई एकताबद्ध गरेर लैजाने प्रयास गरिरहेको बताइन् । 

मन्त्री शर्माले सरकारले नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुनको अवैध ओसार–पसारलगायत भ्रष्टाचारको छानबिनलाई दृढतापूर्वक सहयोग गरिरहेको पनि उल्लेख गरिन् । 

‘प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको एक वर्षको बीचमा सेवा प्रवाहलाई सरल, कम खर्चिलो बनाइएको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुनको अवैध ओसार–पसारलगायतका भ्रष्टाचारको छानबिनलाई सहयोग गर्न सरकार दृढतापूर्वक उभिएको छ । यसको नतिजा पनि प्राप्त हुनेक्रममा रहेको छ,’ मन्त्री शर्माले भनिन्, ‘अहिलेका हाम्रा सरकारका स्वामित्वमा रहेका सञ्चारमाध्यम हिजोका निरंकुश सरकारका पालामा रहेका सञ्चार माध्यमजस्ता होइनन् । अहिलेका सञ्चार माध्यमहरूले सरकारले गरेका राम्रा कामहरू जनसमक्ष पुर्‍याउने, जनताका आशा, अपेक्षा, गुनासालाई कलात्मक ढंगले सरकारको समक्ष पुर्‍याउने र त्यो कुरालाई सम्बोधन गर्नका लागि आवश्यक सहजीकरण गर्ने काम पनि सरकारी मिडियाले गर्नुपर्छ ।’  





  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार १४:४०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया