नामिबियाविरुद्ध नेदरल्याण्ड्सको सानदार जित, नेपाल अंक तालिकाको शीर्षमा उक्लियो

नेदरल्याण्ड्सले आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्नेक्रममा उसले नेपालमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत सोमबार नामिबियालाई ७ विकेटले हरायो । 

नेदरल्याण्ड्सले पहिलो खेलमा नेपालसँग ९ विकेटको फराकिलो हार बेहोरेको थियो । आफ्नो दोस्रो खेलमा नामिबियाले दिएको १ सय २४ रनको लक्ष्य नेदरल्याण्ड्सले २७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । 

माइकल लेविट, तस्बिर : रासस

उसका लागि ओपनर माइकल लेविटले अर्धशतकीय पारी खेले । उनले ८१ बलमा ८ चौका र २ छक्कासहित ५७ रनको पारी खेलेका हुन् । यस्तै, म्याक्स ओ’दाउदले २८ र बासडी लीडाले अविजित २१ रनको योगदान दिए । नामिबियाका लागि कप्तान गेर्हार्ड इरास्मसले मात्र तीन विकेट लिन सके ।   

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबिया ३५.१ ओभरमा १ सय २३ रनमा अलआउट भयो ।  उसका लागि जेजे स्मितले २६, रुबेन ट्रम्पलम्यानले २०, जेन ग्रीनले १९, निकोलास डेभिन र गेर्हार्ड इरास्मसले १३/१३ तथा बर्नार्ड स्कोल्ट्जले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

नामिबियालाई सस्तैमा समेट्नेक्रममा नेदरल्याण्ड्सका स्पिनर आर्यन दत्तले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिए । एकदिवसीयमा उनको यो करियरकै उत्कृष्ट बलिङ हो ।



यस्तै, काइल क्लेनले दुई, रोइलोफ भ्यान डेर मर्वे र म्याक्स ओ’दाउदले एक/एक विकेट हात पारे । नेदरल्याण्ड्सको जितपछि नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार बेहोरे पनि दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो ।



नेदरल्याण्ड्स यो जितपछि पनि तालिकाको तेस्रो स्थानमा छ । सोमबारको हारले नामिबिया दोस्रो स्थानमा खस्किएको छ । नेपालले अब बुधबार नामिबियासँग खेल्ने तालिका छ ।   

  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार १४:१७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया