एनआरटीलाई हराउँदै मछिन्द्र बागमती गोल्डकपको फाइनलमा

मछिन्द्र फुटबल क्बल मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा सोमबार भएको पहिलो सेमीफाइनल खेलमा न्युरोड टिम (एनआरटी)लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरेको हो ।

मछिन्द्रको जितमा हिसुव थपलिया र विदेशी खेलाडी स्टेफेन समीरले दुई–दुई तथा विमल घर्ती मगरले एक गोल गरे । खेलको नवौँ मिनेटमा थपलियाकोे गोलमार्फत सुरुवाती अग्रता बनाएको मछिन्द्रका लागि स्टेफेनले १३औँ मिनेटमा र ४६औँ मिनेटमा गोल गरे भने खेलको दोस्रो हाफको १४औँ मिनेटमा थपलियाले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै, घर्तीले ९१औँ मिनेटमा गोल गरे । 

एनआरटीका लागि खेलको दोस्रो हाफको १५औँ मिनेटमा विदेशी खेलाडी सेवेले गोल गरे पनि टिम हारबाट जोगिन सकेन । खेलको म्यान अफ दी म्याच मछिन्द्रका थपलिया घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । 

यसअघि भएको क्वार्टरफाइनल खेलमा सिमराको नवजनजागृति युवाक्लबलाई हराउँदै एनआरटी सेमीफाइनल आइपुगेको थियो । यस्तै, जावलाखेल युथ क्बललाई हराउँदै मछिन्द्र सेमीफाइनलमा पुगेको थियो । 

फाइनलप्रवेश गरेको मछिन्द्र अब उपाधिका लागि विभागीय टोलीहरू त्रिभुवन आर्मी क्बल र सशस्त्र प्रहरी बल एपिएफबीचको विजेतासँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।





  • प्रकाशित मिति : फागुन ७, २०८० साेमबार २०:११:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया