सुदूरपश्चिमलाई हराउँदै मधेस प्रदेशले जित्यो एमएम कपको उपाधि

मधेस प्रदेश दोस्रोपटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको सानदार जित निकाल्दै मधेस दोस्रोपटक च्याम्पियन बन्न सफल भयो । 

यसअघि मधेसले पहिलो संस्करणको उपाधि जितेको थियो । च्याम्पियन बनेको मधेशले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको सुदूरपश्चिमले ५० हजार र ट्रफीमा चित्त बुझायो ।

खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम २० दशमलव दुई ओभरमा ८६ रन जोडेर अलआउट भयो । सुदूरलाई सस्तैमा रोक्न मधेसका बलर धीरेन्द्र पासवानले चार र रोहन यादवले तीन विकेट लिए । सुदूर पश्चिमका लागि विशाल विष्टले २४, निराजन गौतमले १८ र सचिन साउदले १४ रनबाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् ।

मधेसका कप्तान चन्दन राम, मेराज आलम र वासिम अली मन्सुरीले समान एक÷एक विकेट लिए । उपाधिका लागि ८७ रनको लक्ष्य मधेसले २० ओभरको चौथो बलमा पाँच विकेट गुमाएर भेटाउन सफल भयो । सुरुआती चरणमा मधेसको ब्याटिङ धरमराए पनि मोहमद अरमानले २० र परिमार्जन यादवले ३० रनको योगदान दिएपछि जितको आधार तयार भयो । सुदूरपश्चिमका लागि डम्बर माझीले दुई, निराजन गौतम र नीरज ऐरले समान एक/एक विकेट लिए ।

गत माघ २८ गतेदेखि सुरु भएको प्रतियोगितामा मधेस प्रदेशका चन्दन राम प्लेयर अफ दि सिरिज घोषित भए । उनले प्रतियोगितामा ८३ रनको व्यक्तिगत योगदान दिँदा १० विकेट लिए । 

प्रतियोगिताभर सर्वाधिक १४ विकेट लिएका सुदूरपश्चिमका डम्बर माझी उत्कृष्ट बलर घोषित भए । मधेस प्रदेशका राहुल हक अन्सारी उत्कृष्ट ब्याटर बन्न सफल भए । उनले प्रतियोगिताका कुल १ सय ५२ रन बनाए ।  





  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार ७:२९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया