logo-img

त्रिवि उपकुलपतिमा प्रचण्डको प्रपञ्च : खुला प्रतिस्पर्धा देखाउने दाँत
प्रधानमन्त्रीले घुमाउरो पारामा राजनीतिक भागबन्डामा लगे : गगन

त्रिभुवन विश्वविद्यालको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गतपुस २ मा त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य गर्ने र मेरिटोक्रेसीका आधारमा उपकुलपतिलगायतका पदाधिकारी नियुक्ति गर्ने घोषणा गरे । प्रधानमन्त्रीको घोषणालाई सार्थक देखाउन त्रिवि  उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले गत पुस २१ मा सूचना प्रकाशन गर्दै उपकुलपतिका लागि दरखास्त दिन आह्वान गर्याे । तर अनौठो त के भने उक्त सूचना २४ घण्टा पनि टिक्न सकेन । 

सूचनामा उपकुलपतिमा दरखास्त दिने व्यक्तिले विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको अनुभव हासिल गरेको हुनुपर्ने मापदण्ड राखिएपछि त्रिविकै कुनै पदाधिकारीलाई उपकुलपति बनाउन लागिएको आशंकासहित चौतर्फी आलोचना भयो । सूचना प्रकाशन भएको २४ घण्टा नबित्दै प्रधानमन्त्री प्रचण्डकोे निर्देशनमा नयाँ सूचना प्रकाशन गरियो । मेरिटोक्रेसीका आधारमा उपकुलपति छनोट गर्ने प्रधानमन्त्रीको घोषणालाई पहिलो गाँसमै त्यहीँनेर ढुंगा लाग्यो ।

उपकुलपतिका लागि दोस्रो पटक सूचना प्रकाशन भएपछि विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य हुने आश शैक्षिक सरोकारवाला व्यक्तिले राखेका थिए । प्रधानमन्त्रीको उक्त कदमप्रति शैक्षिक जगतमा चर्चा पनि चल्यो । विश्वविद्यालय सुधारको पक्षमा रहेका सबैले प्रधानमन्त्रीको खुलेर प्रशंसा गरे । विश्वविद्यालयको कन्तबिजोग देखेका सबैले प्रधानमन्त्री प्रचण्डप्रति आशा राखे । 



तर, प्रधानमन्त्री प्रचण्डमाथिको उक्त आशा र चर्चा सर्टलिस्ट प्रकाशनसँगै सकियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सर्टलिस्टमा बौद्धिक चोरीदेखि भ्रष्टाचारमा मुछिएका व्यक्ति अटाएपछि प्रधानमन्त्रीसँगै शिक्षामन्त्री अशोककुमार राईमाथि पुनः राजनीतिक भागबन्डामार्फत त्रिवि उपकुलपति नियुक्त गर्न लागेको आशंकाको दृष्टिकोणले हेरियो । शिक्षामन्त्री राईकै संयोजकत्वमा उपकुलपतिका लागि नाम सिफारिस गर्न समिति गठन भएका कारण उनी पनि यो विवादमा तानिए ।

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले प्रधानमन्त्रीले उपकुलपति छनोट खुला प्रतिस्पर्धाबाट गरेपनि नियत भागबन्डाकै राखेको बताएका छन् । प्रधानमन्त्रीले त्रिवि उपकुलपति खुला प्रतिस्पर्धा गर्ने भनेर झुक्याउन खोजेको उनको बुझाइ छ । प्रधानमन्त्रीले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट प्रक्रियालाई घुमाउरो पारामा राजनीतिक भागबन्डामा लगेको उनको दाबी छ । अहिले देखिएको पनि त्यस्तै छ । उपकुलपतिका लागि सिफारिस भएका तीन जनामध्ये दुईजना नेकपा माओवादी निकट हुन भने एकजना नेकपा एमालेनिकट हुन् । नेपाली कांग्रेसले यसअघि नै त्रिवि सेवा आयोगको अध्यक्ष पाइसकेका कारण कांग्रेसनिकटले यसपटक सर्टलिस्टसम्ममा मात्र स्थान पाए ।

सिफारिस समितिले उच्च अंकसहित पहिलो नम्बरमा सिफारिस गरेका प्रा.डा. चित्रबहादुर बुढाथोकी र दोस्रो नम्बरमा सिफारिस भएका प्रा.डा केशरजंग बराल नेकपा माओवादी निकट हुन् भने तेस्रो नम्बरमा सिफारिस भएका प्रा.डा टंकनाथ धमला एमाले निकट मानिन्छन् । त्रिवि शिक्षाशास्त्र संकायको डिनमा नियुक्त हुँदा बुढाथोकी माओवादीको कोटाबाट डिन बनेकाले पनि उनी माओवादीनिकट भएको स्पष्ट हुन्छ ।



सिफारिस भएका तीनजनामध्ये त्रिवि उपकुलपतिको जिम्मा प्रा.डा. बुढाथोकीले नै पाउने सम्भावना प्रबल छ । प्रा.डा. बराल नेकपा माओवादीनिकट भए पनि सर्टलिस्टमा परेसँगै विवादको घेरामा परेका थिए । उनीमाथि आर्थिक चलखेल गरेको आरोप छ । पोखरा विश्वविद्यालयको उपकुलपति जिम्मेवारीमा रहेकाबेला निजी कलेजलाई सम्बन्धन दिँदा आर्थिक चलखेल गरेको आरोप उनले खेप्दै आएका छन् । त्यसकारण पनि बरालाई त्रिवि उपकुलपतिको जिम्मेवारी दिएर प्रधानमन्त्री आफू थप विवादमा तानिने पक्षमा छैनन् ।

सिफारिस समितिले विभिन्न मापदण्डका आधारमा दिएको अंक पनि बुढाथोकीको तुलनामा बरालको कम छ । प्रा.डा. बुढाथोकीले १०० पूर्णांकमा ७८ अंक प्राप्त गरेका छन् भने बरालले ७६ अंक प्राप्त गरेका छन् । अंकका आधारमा पनि बरालभन्दा बुढाथोकी नै अगाडि छन् । ७५ अंकसहित तेस्रो नम्बरमा सिफारिस भएका प्रा.डा. टंकनाथ धमला तीन जनाको नाम सिफारिस गर्नैपर्ने कानुनी व्यवस्था भएका कारण सिफारिस भएका हुन् भन्दा फरक नपर्ला ।



अहिलेसम्मको सबै दृष्टान्त हेर्दा उपकुलपतिको बलियो दाबेदारका रूपमा प्रा.डा बुढाथोकी नै देखिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले प्रा.डा बुढाथोकीलाई नै त्रिविको उपकुलपति बनाउने निर्णय गरिसकेका छन् । उनको नियुक्ति पत्र बन्ने प्रक्रियामा रहेको स्रोतले जनाएको छ ।

को हुन् उपकुलपति बन्न लागेका बुढाथोकी ?

२०५२ मा त्रिवि उपप्राध्यापक पदमा नियुक्ति भएर शिक्षण सेवामा प्रवेश गरेका प्रा.डा चित्रबहादुर बुढाथोकी विगत २८ वर्षदेखि त्रिविमा कार्यरत छन् । ५८ वर्षीय बुढाथोकी अहिले त्रिविमा शिक्षाशास्त्र संकायको डिनका रूपमा कार्यरत छन् । उनी २०७८ मा शिक्षाशास्त्र संकायको डिनमा नियुक्त भएका थिए । उनको डिनको कार्यकाल सकिन अझै समय बाँकी छ ।

बुढाथोकीले त्रिवि शिक्षा संकायबाट २०५० सालमा विशिष्ट श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण गरेका हुन् । २०५९ सालमा प्राध्यापक बनेका बुढाथोकी २०६९ मा शिक्षाशास्त्र संकायको सहायक डिन बनेका थिए । उनले २०६३ मा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट स्वास्थ्य शिक्षामा विद्यावारिधि गरेका छन् । लामो समयदेखि त्रिविमा कार्यरत उनी त्यहाँका समस्या र चुनौतीसँग परिचित छन् । राजनीतिक भागबन्डाकै आधारमा उपकुलपतिमा नियुक्त भए पनि विश्वविद्यालय सुधारमा ध्यान दिन सके भने उनले त्रिविलाई उचाइमा पुर्याउने ल्याकत राख्छन् ।

  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार १७:६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया