logo-img

माटोमा शिल्प भरेर चलेको वीरपालको जीविका

माटोका भाँडाकुँडा बनाएर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सात दशकअघि कालागौँडी आएका हुन् । 

हजुरबुबाले गर्दै आएको काम उनका बुबा चिरौँजीलालले पनि निरन्तरता दिए । अहिले त्यही काम वीरपालले सम्हाल्दै आएका छन् । वर्षौँदेखि यहाँ बस्दै आएका वीरपालसँग चार कठ्ठा चार धुर जग्गाको २०२५ मा उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र पनि छ । त्यो जग्गा निकुञ्ज विस्तारित क्षेत्रमा पर्दा उनले सट्टाभर्ना पाउन भने सकेका छैनन् ।  

तत्कालीन पिपलाडी गाउँपालिकाको भत्तपुरीमा रहेको जग्गाको उनले सट्टाभर्ना नपाएका हुन् । ‘देशमा त्यसबेला सङ्कटकाल लागेको हुँदा विस्थापित हुनुपर्‍यो’, उनले भने, ‘जग्गाधनी प्रमाणपत्र भए पनि जग्गा पाउन सकिएको छैन ।’ 



नेपालमै उनको जन्म भयो, यहाँ तीन पुस्ता बित्यो । नेपाली नागरिकताका लागि पहल गरे पनि त्यो भने पाउन नसकिएको कुमालले बताए । कञ्चनपुर जिल्लामा उनी एक्ला माटोका भाँडाकुँडा बनाउने व्यक्तिका रूपमा चिनिन्छन् । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारित क्षेत्र भत्तपुरीबाट विस्थापनमा परेपछि वीरपालले भाडामा जग्गा लिएर माटोका भाँडा बनाउँदै आएका छन् ।

उनी विभिन्न ढाँचामा आकर्षक गमला, लोटा, करुवा, घैँटो, गोलक बनाउँछन् । कम्तीमा १५ देखि बढीमा २ सय ५० रुपैयाँमा उनले बनाएका भाँडाकुँडाको किन्न पाइन्छ । यद्यपि ती वस्तुको मूल्य बजारमा फरक छ । 

वार्षिक ४ लाख रुपैयाँ कमाइ हुने उनी बताउँछन् । माटो, दाउरा, जग्गाको भाडा, कामदारको ज्यालामा २ लाख ५० हजार रुपैयाँ जति खर्च हुने गरेको छ । बचेको रकमले घरखर्च चल्ने गरेको उनले बताए ।



‘परिवारको लत्ताकपडादेखि राशनपानीमै काम गरेर कमाएको रकम खर्च हुन्छ’, उनले भने, ‘बिरामी परे अरुसँग सापटी लिनुपर्दछ ।’  व्यवसाय दर्ता गरेर कुमालले काम गर्दै आएका छन् । तर, अन्य भारतीयले भारतबाटै भाँडाकुँडा ल्याएर सस्तोमा बिक्री गर्दा उनको व्यवसाय सङ्कटमा परेको छ ।

‘अवैधरूपमा बजार क्षेत्रमा भारतीयले माटोका भाँडाकुँडा खुला सीमानाका हुँदै राजस्व नतिरेर भित्र्याउने गरेका छन्’, उनले भने, ‘मेरै नाम लिएर बेच्छन्, वडा कार्यालय र प्रहरीलाई यसबारे खबर गर्दा पनि अवैध कारोबार नरोकिँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ, परिवारको रोजीरोटी खोसिन थालेको छ ।’



अन्य काम गर्नेका लागि सरकारले अनुदानको व्यवस्था गर्दै आए पनि कुमालेका लागि कुनै कार्यक्रम नहुँदा उनी हतोत्साहित छन् । वडाध्यक्ष नवलसिंह रानाले पुर्खौँदखि वीरपालको परिवारले काम गर्दै आए पनि नागरिकता नपाउँदा अनुदानलगायत सुविधाबाट वञ्चित रहनु परेको बताए ।

‘कानुनी प्रक्रिया पूरा गर्न नागरिकता चाहिन्छ’, उनले भने, ‘त्यो नभएपछि कुनै पनि कार्यक्रममा समावेश गर्न सकिँदैन ।’ रासस 

  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार ९:१७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया