१०८ कन्याबाट महायज्ञ शुभारम्भ, १५ दिनसम्म विभिन्न विषयमा सम्मेलन हुने

बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ आजदेखि सुरु भएको छ । पञ्चकोटका संस्थापक एवं यस महायज्ञका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वार्मी कमलनयनाचार्यको आह्वानमा सुरु भएको यस महायज्ञको मुक्तिनाथदेखि नवलपारासीको त्रिवेणीधामसम्मका नौ वर्षीया एक सय आठ कन्याबाट आज महायज्ञको भएको हो । नेपालमा पहिलो पटक आह्वान गरिएको यस ब्रह्माण्डीय महायज्ञ यही फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । 

त्यसैगरी महायज्ञअन्तर्गत भोलि बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले पाँच हजार पाँच सय ५५ किलोको महाघण्टको उद्घाटन गर्ने कार्यक्रम रहेको महायज्ञ आयोजक मूल समारोह समितिले जनाएको छ । विश्वमा शान्तिको सन्देश दिने उद्देश्यसहित देश दर्शन गरेर सो महाघण्ट पञ्कचकोटमा स्थापित गरिएको छ ।  

महायज्ञस्थलमा ३१ फिट अग्लो धान्य मौलो राखिएको छ । मौलो २५ फिट जमिनमाथि रहने र त्यसलाई धानले पुर्ने महायज्ञको कार्यक्रम रहेको स्वामी कमलनयनाचार्यले बताए । मौलो पुर्नका लागि आवश्यकपर्ने २१ हजार पाँच सय ५५ मुरी धान संकल्पकर्ताहरुबाट संकलन भएको र महायज्ञमा आफैँ उपस्थित भएर अनुष्ठान गरी तथा विभिन्न माध्यमबाट नेपाली दाजुभाइ दिदीबहिनीहरुले सहयोग उपलब्ध गराइरहेकाे पनि उनले जानकारी गराए । 

आजैदेखि महायज्ञमा धनधान्याञ्चल सुरु भएको छ भने यहाँ ब्रह्माण्डका सबै देवीदेवतालाई आह्वान गरी यजन र पूजन गरिने र कार्यक्रम रहेको छ । त्यसैगरी यसै महायज्ञअन्तर्गत १५ दिनमा विभिन्न फरकफरक विषयमा विज्ञहरुका कार्यपत्र तथा विचारसहितका सम्मेलन पनि हुने कार्यक्रम रहेको छ । 

यसअन्तर्गत हरेक श्रीफल (नरिवल) मा विभिन्न ५४ प्रकारका हवनीय द्रव्यहरुको मिश्रण गरी एक लाख नरिवल हवन गर्ने पनि कार्यक्रम रहेको छ । अनुष्ठानसहित हरेक दिन महायज्ञमा वैदिक पूजन जारी रहनेछ भने महायज्ञस्थलमै हरेक दिन फरकफरक विषयका बहस तथा सम्मेलन पनि जारी रहनेछ । 

जलसम्पदाको संरक्षण गर्ने विश्वव्यापी सन्देश दिनका लागि पञ्चकोटमा निर्माणाधीन कलश निर्माण यस महायज्ञका उद्देश्यमध्ये एक रहेको छ । विश्वमा संकटपूर्ण बन्दै गएको जलसम्पदाको संरक्षणको सन्देश पनि हामीले नेपालबाटै दिन सकिने उद्देश्य लिइएको र यस महायज्ञमा राष्ट्रिय बहसका कार्यक्रमलाई अघि सारिएको उनले बताए । 



पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले राष्ट्रपति, प्रधानमन्त्रीसहित राष्ट्रियरुपमा विभिन्न व्यक्तित्वहरुको उपस्थिति हुने जानकारी दिए । उनले महायज्ञका लागि देशभरबाट साधुसन्तहरुको आगमन भएको र भारतलगायतका देशबाट आउनेक्रम जारी रहेको जानकारी पनि दिए । 

महायज्ञमा पुग्ने भक्तजनहरुका लागि भोजन र बासको व्यवस्था गरिएको छ । यसका लागि विभिन्न व्यक्ति एवं सङ्घसंस्थाले स्वतःस्फूर्तरुपमा सहयोग गर्नेक्रम जारी रहेको महायज्ञका आयोजकले जनाएका छन् ।



  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार १९:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया