स्नातक कार्यक्रम फेरि तीन बर्से बनाउँछौँ : उपकुलपति बराल
फाइल तस्बिर

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीन बर्से बनाइने जानकारी दिएका छन् । त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चार बर्से स्नातक कार्यक्रम सुरुआत गरेको थियो ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. बरालले चारबर्से स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए । ‘बाहिरको शिक्षा प्रणाली अनुकूल बनाउन जनाउँदै चारबर्से गरियो तर छिमेकी भारत, युरोपेली मुलुकलगायत थुप्रै ठाउँमा अहिले पनि तीनबर्से स्नातक कार्यक्रम नै चलिरहेको छ’, उनले भने ।  

अमेरिकालगायत केही देशमा चारबर्से स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले भने, ‘त्यस्ता देश वा त्यस्तै चारबर्से विषय पढ्न जान चाहने विद्यार्थीका लागि तीनबर्से कोर्स सकेपछि थप एक वर्षको छुट्टै मानार्थ उपाधिका कार्यक्रम चलाउन सकिन्छ ।’  

साथै उनले विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारबर्से वा पाँचबर्से हुनसक्ने बताए । विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेकातर्फ औंल्याउँदै उपकुलपति बरालले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए । यसको  समाधानका लागि मानविकीलाई सबै सङ्काय र कार्यक्रमबाट आउन मिल्ने (मल्टी डिसिप्लिनरी लिवरल आर्ट) का रुपमा पुनः संरचना गरिने जानकारी पनि उनले दिए ।

केही वर्षयता त्रिविको संरचना ठूलो र भद्दा भएको चर्चा गरिने उल्लेख गर्दै उपकुपति बरालले यसको पुनः संरचनाका लागि आफू तयार रहेको बताए । ‘त्रिविलाई अब विस्तार होइन पुनः संरचनाको खाँचो छ’, उनले भने ।

उपकुपति प्रा.डा. बरालले त्रिविका शैक्षिक कार्यक्रमहरूलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताए । देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन–अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने पनि उनले बताए ।  





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार १८:४१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया