मन्त्री र सचिवको स्वार्थ नमिल्दा २९ सहसचिवको पदस्थापनमा ढिलाइ

आफू अनुकूलका कर्मचारीलाई मातहतमा ल्याएर काम लगाउने मन्त्री र सचिवको स्वार्थले कर्मचारी प्रशासन क्षेत्र समस्याग्रस्त बनेको छ । कर्मचारीको चाहना एउटा हुने र राजनीतिक नेतृत्वले आफ्नो अनुकूल कर्मचारी ल्याएर काम गर्न चाहने प्रवृत्तिले सिंगो कर्मचारी प्रशासन क्षेत्र नै विकृत बनिरहेको हो ।

उपसचिवबाट सहसचिवमा बढुवा भएका २९ सहसचिवले काम गर्ने थलो पाएका छैनन् । उनीहरूको पदस्थापन र सरुवा दुई सातादेखि अन्योलमा छ । संघीय मामिला मन्त्रालयले ४ फागुनमा ४० जना सहसचिवको सरुवा तथा पदस्थानको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको थियो । 

त्यसको अर्को दिन बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने तयारी थियो । तर, त्यसयता पटक–पटक मन्त्रिपरिषद् बैठक बसिसकेको छ । तैपनि सहसचिव सरुवाको फाइल अघि बढेको छैन । बरु प्रधानमन्त्री कार्यालय पुगेको फाइलमा थपघट भने निरन्तर छ ।

पदस्थापन र सरुवामा ढिलाइ हुँदा कर्मचारी भने मन्त्रालयमा हाजिर भएर घाम तापेर दिन कटाइरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनले बनाएको सूचीमा अर्थमन्त्री प्रकाशशरण महतले फरक चाहना देखाएपछि सहसचिव सरुवा रोकिएको छ । मन्त्री महतले उपसचिवबाट सहसचिवमा भर्खरै बढुवा भएका आफ्ना रोजाइका २ सहसचिव मिमांश अधिकारी र गोपाल कोइरालालाई आफ्नो मन्त्रालय लैजान चाहेका छन् । तर, सामान्य प्रशासनले भने बढुवा हुनेबित्तिकै अर्थ मन्त्रालयमा पदस्थापन गर्ने प्रचलन नभएको भन्दै अस्वीकार गर्दै आएको छ । 

अर्थमन्त्री महतको चाहनामा मुख्यसचिव बैकुण्ठ अर्यालले पनि साथ दिएका छन् । अर्थ मन्त्रालयका कनिष्ठ सहसचिवलाई सिंहदरबारमै राख्ने अस्वाभाविक रुचि सम्बोधन गर्नाले सहसचिव सरुवामा ढिलाइ भएको सामान्य प्रशासनको भनाइ छ । 

‘२९ सहसचिव पदस्थापन गर्न खोज्दा ४० जनाको सूची बनाउनुपर्‍यो, सानो सानो कुरामा थेगिनसक्नु राजनीतिक दबाब छ,’ मन्त्रालय स्रोत भन्छ, ‘थप सहसचिवहरूलाई सरुवा गर्न भनेर अहिले पनि दबाब छ ।’ 



यसअघि ९ माघमा २८ सहसचिवको सरुवा हुनेबेला समेत अर्थ मन्त्रालयकै स्वार्थका कारण ढिलाइ भएको थियो । त्यसबेला अर्थले सहसचिव सेवन्तक पोखरेललाई नै जसरी पनि मन्त्रालय तान्न चाहेको थियो । जसकारण सहसचिवको सरुवा एक महिनासम्म रोकिएको थियो ।  



  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार ८:५८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया