श्रद्धाञ्जलीका लागि भजन शिरोमणि आचार्यको पार्थीव शरीर प्रज्ञाप्रतिष्ठानमा

वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जली अर्पण अहिले पनि जारी छ ।

प्रतिष्ठानमा उनलाई श्रद्धाञ्जली दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्रका व्यक्तिको उपस्थिति छ । प्रतिष्ठानकी सदस्यसचिव कुस्मा महराले बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारबाट श्रद्धाञ्जली अर्पण चलिरहेको बताइन् । साथै केही समयपछि श्रद्धाञ्जलीका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत नेपाल सरकारका उच्च अधिकारीहरूको पनि उपस्थिति रहने जानकारी दिइन् ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । उनलाई हिजो अपरान्ह ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो ।

प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत–सङगीत क्षेत्रको एउटा धरोहर ढलेको र उनको अभाव सधैँ खड्किरहने बताइन् । आचार्यले ‘मुटु जलिरहेछ...’, ‘जति चोट दिन्छौं...’, ‘जहाँ छन् बुद्धका आँखा...’, ‘हजार सपनाहरूको...’, ‘माया मेरी साँझ बिहान...’, ‘हजार आँखा हेर्ने...’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् ।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन् । उनको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । वि.सं १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ । 





  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार १२:४२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया