सीमामा एसएसबीको ज्यादती कायमै, स्थानीय भन्छन्– ‘अनाहकमा भाटा हान्छन्’

पूर्वी नेपालको भारतसँग सीमा जोडिएको भेगमा बसोवास गर्दै आएका नेपालीले भारतीय सुरक्षा बल एसएसबीको ज्यादती बढ्दै गएको गुनासो गरेका छन् । स्थानीयको धारणा बुझ्न पैदल यात्रामा निस्केको जिल्ला सुरक्षा समिति सुनसरीको टोलीसमक्ष सीमा क्षेत्रका नेपालीवासीले भारतीय सुरक्षा बल एसएसबीको ज्यादतीबारे आवाज उठाएका हुन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहितको टोलीमा रहेका सुरक्षा निकायका प्रमुखसमक्ष आफ्ना गुनासा राख्नेक्रममा सीमाका नेपालीले एसएसबीको ज्यादती बारेको जानकारी गराए । सीमा क्षेत्रमा एसएसबीले नेपालीलाई गर्ने व्यवहार रूखो र अभद्र प्रकृतिको रहेको नेपाली भूमितर्फका बासिन्दाको भोगाइ छ । 

उनीहरूले एसएसबीले नेपालीलाई स–साना कुरामा भाटा हान्ने, कुटपिट गर्ने र अनाहकमा पक्राउ गरी दुःख दिने जस्ता कार्य गर्दै आएको नेपाली सुरक्षा निकायसमक्ष दुःखेसो पोखेका छन् ।

हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले समेत एसएसबीको ज्यादती बढेको भन्दै नेपाली पक्षले सोच्नेबेला आएको धारणा राखे । एसएसबीले नेपाली भूमिमा खाल्डो पारिदिने, टहरा निर्माण गर्ने, नेपालीलाई अनाहकमा दुःख दिनेजस्ता काम गर्दै आएको अन्सारीले बताए ।

सीमामा एसएसबीको उपस्थितिको विषयमै प्रश्न उठाएका अन्सारीले भारतले लागुऔषध खुलारूपमा नेपाल भित्रन दिएर बालबालिकाको भविष्य अन्योल बनाउने जस्ता कार्य गरिरहेको आरोपसमेत लगाए । उनले एसएसबीले चोरी तस्करी नियन्त्रणमा समेत नेपाली पक्षलाई सघाउ नगरेको भन्दै सोबारे माथिल्लो तहमै आवाज उठाउन ढिला गर्न नहुने धारणा राखे ।



स्थानीय अताबुल अन्सारीसमेतले एसएसबीको ज्यादती बढेको देख्दा नेपाली भूमि नेपालको नभइ भारतकै होकि भन्ने आभाष हुन थालेको बताए । उनले नेपाल सरकारले सो विषयमा ठोस कदम चाल्नुपर्ने बताए ।     



कोशी प्रदेशका नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीसमेतको उपस्थितिका बीच भारतीय सीमा सुरक्षा बल एसएसबीको कार्यशैलीको आलोचना गरेका स्थानीयले काउण्टर पार्टको बैठकमा सो विषय उठान गर्न मागसमेत गरेका छन् ।  

सुनसरीमा ६२ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ । सीमा सुरक्षामा दुवै देशका सुरक्षाकर्मीको तैनाथी रहँदै आएको छ । यद्यपि सीमामा रातदिनको सुरक्षा तैनाथीका बाबजुद चोरी तस्करी भने रोकिन नसकेको स्थानीयको भनाइ छ ।

सीमा क्षेत्रमा स्थानीयको धारणा र दशगजा क्षेत्रको अवस्था बुझ्न तीन दिने पैदल यात्रामा निस्केका प्रजिअ जयनायारण आचार्यले स्थानीयका प्रत्यक्ष गुनासा र समस्या सम्बोधनका सवालमा सरकारको ध्यानाकर्षण गराइने बताए ।

प्रजिअ आचार्यले पैदल यात्राको उद्देश्य सीमावासीसँगको प्रत्यक्ष भेटघाटसँगै समस्या र गुनासा सम्बोधनका लागि भएको बताए । यात्राका क्रममा स्थलगत अनुगमनसँगै वस्तुस्थिति बारेको प्रत्यक्ष जानकारी प्राप्त हुने प्रमुख जिल्ला अधिकारीले बताए ।  

प्रजिअ आचार्यले एसएसबी बारेको नेपालीको धारणा र नेपाली भूमिमा भारतीय टहरा बनाइएको भन्ने जस्ता विषयसहित स्थानीयले उठाएका मुद्दा दुईदेशीय सुरक्षा समितिको बैठकमा कुरा उठाउने बताए । 

  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार १४:७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया