निर्माण थालेको १० वर्षपछि ठिमुरा-देवघाट पुल सञ्चालनमा
फाइल तस्बिर

चितवनको भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आएको छ । लामो समयपछि पुल सम्पन्न भएर सञ्चालनमा आएको हो । 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार निर्माणका क्रममा प्राविधिक समस्या आएको, हावाहुरीले निर्माणकै क्रममा ढलेकोलगायत कारण काममा ढिलाइ भएको थियो । निर्माण कार्य सुरु हुनुअघि बनाइएको नक्साङ्कन बीचमा संशोधन गर्नुपर्दा समय लागेको पनि उनले बताए । 

निर्माण सुरु गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको थियो । पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो रहेको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्सा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको उनले जानकारी दिए । ‘१ सय २० मिटर ढलान गरिएको छ भने अन्य स्थानमा स्टिलको स्पान बनाइएको छ,’ पौडेलले भने ।  

भरतपुर महानगरपालिका–१ ठिमुरादेखि तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथिको यो पुल निर्माणको कार्य २० कात्तिक २०७१ मा निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो । ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी एलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको हो । निर्माणका क्रममा २४ चैत २०७७ मा पहिलोपटक र दोस्रोपटक २०७९ वैशाखमा भत्किएको थियो । 

पुल निर्माणका लागि सुरुमा १९ करोड १० लाख ६६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको भएपनि संशोधित लागत २१ करोड ६८ लाख ४८ हजार रुपैयाँ रहेको छ । पौडेलले नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ आदि कारण काममा ढिलाइ भएको जानकारी दिए ।

यो पुल सञ्चालनमा आएसँगै देवघाट आवतजावत गर्ने भक्तजन र सर्वसाधारण लाभान्वित भएका छन् । रासस 





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १४:२८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया