गण्डकी प्रदेशसभामा तीन विधेयक प्रस्तुत

गण्डकी प्रदेशसभाको आजको बैठकमा तीन विधेयक प्रस्तुत भएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले ‘गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा पेस गरेका हुन् । ।

‘गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिका सभापति फणिन्द्र देवकोटाले समितिको प्रतिवेदनसहित प्रदेशसभामा पेस गरेका हुन् । 

यस्तै ‘गण्डकी प्रदेशमा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाको प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी खड्काले समितिको प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत गरेकी हुन् । 

बीउबिजन र आमसञ्चार सम्बन्धी विधेयक गत भदौ ३० गते प्रदेशसभामा दर्ता भई दफाबार छलफलका लागि विषयगत समितिमा पठाइएको थियो । विज्ञसहित सरोकार भएका पक्षहरुसँगको सघन छलफल र परामर्शपछि संशोधनसहित समितिबाट पारित भएको विधेयक प्रदेशसभामा प्रस्तुत गरिएको सामाजिक विकास तथा कृषि समितिका सभापति देवकोटाले बताए । 

प्रदेश मामिला तथा कानुन समितिका सभापति खड्काले समितिका सदस्य, सम्बन्धित मन्त्रालयका पदाधिकारी, आमसञ्चार क्षेत्रका विज्ञलगायत सरोकार भएका पक्षसँगको रायसुझावलाई विधेयकमा समेटिएको बताए । विधेयकमाथि दफावार छलफलका लागि पटकपटक समितिको बैठक बसेको उनको भनाइ छ ।  

दुवै विधेयक प्रदेशसभामा सामान्य छलफलपछि पारित हुने जनाइएको छ । गत माघ २९ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम ‘गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ आज प्रदेशसभामा पेस भएको हो ।  



 बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही हिउँदे अधिवेशनमा गण्कडी प्रदेश सडक विधेयक, जीवनाशक विषादी व्यवस्थापन विधेयक, जनस्वास्थ्य विधेयक, भूमि विधेयक, घरेलु मदिरासम्बन्धी विधेयक, खाद्य, विद्युत्, जलस्रोतलगायत विधेयक ल्याइने बताए । 

विभिन्न नियमावली संशोधनका लागि सरकारले स्वीकृत प्रदान गरेको उल्लेख गर्दै उनले आवश्यकता पहिचान भएका कानुन निर्माण गर्ने कार्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । 



मुख्यमन्त्री पाण्डेले कानुनी प्रबन्धसँगै प्रदेश सरकारले तय गरेका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा आफूहरु केन्द्रित रहेको उल्लेख गरे । 

  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार २०:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया