काठमाडौं महानगरमा २ लाख करदाताले तिर्दैनन् नियमित कर, २ अर्ब बक्यौता असुल गर्न बाँकी

काठमाडौं महानगरपालिकामा करिब २ लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता ३ लाख १२ हजार भए पनि २ लाखले नियमित कर नतिर्ने बताइएको छ ।  

लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका करदातालाई नियमअनुसार समावेश गर्नका लागि कामपाले वडास्तरीय अनुगमन गरी नियमसङ्गतरूपमा ल्याउने तयारी गरेको कामपा राजस्व विभाग जनाएको छ । यसरी कर तिर्नका लागि आलटाल गर्नेमा सबैभन्दा धेरै बहाल करमा करिब १ लाख करदाता रहेको छन् । 

त्यस्तै, व्यवसाय कर, मनोरञ्जन कर र विज्ञापन करमा एक लाखको हाराहारीमा रहेको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार दर्ता प्रक्रियामा नआएका सबै शीर्षकका करदातालाई नियमअनुसार बनाउनका लागि यसै महिनादेखि कामपाको ३२ वटै वडाबाट नियमित अनुगमन गरी प्रक्रियामा ल्याउने तयारी कामपाको रहेको छ ।   

कामपामा कर तिर्नका लागि दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट पनि २ अर्ब रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख काफ्लेले जानकारी दिए । उक्त रकम विगत १२ वर्षदेखिको रहेको कामपाको भनाइ छ । दर्ता गरेर पनि नियमअनुसार कर नतिरेका करदाताका लागि कामपाले चालू आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म तिर्नुपर्ने रकममा केही छुट दिएको थियो । 

सोही अवधिमा दर्ता प्रक्रियामा रहेको केही करदाताले कर तिरेका भए पनि अझै धेरै करदाताले तिर्नका लागि आलटाल गरिरहेका छन् । दुई वर्षअघि पनि कामपाले २८ वर्षदेखिको बक्यौता रकम असुल गर्न भन्दै त्यस्ता करदाताको नाम नै सार्वजनिक गरेको थियो । उक्त समयमा घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने र बक्यौता तिर्ने क्रम बढेको भए पनि अहिले बक्यौता तीर्ने क्रम ठप्पजस्तै रहेको काफ्लेको भनाइ छ ।     

चालू आवका लागि जम्मा १० अर्ब ८० करोड रुपैयाँ वार्षिक लक्ष्य लिएको कामपाले चालू आर्थिक महिनाको अवधि पार गरिसक्दा ५ अर्ब ८० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व असुल गरेको छ । चालू आवको अर्ध वार्षिक अवधिसम्म कामपाको राजस्व सङ्कलनको अवस्था राम्रो रहे पनि पछिल्लो माघ महिनामा कामपाको आम्दानी अन्य महिनाको तुलनामा घटेको छ । रासस  





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार ७:१४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया