संक्रमणकालका उपकुलपति : जति अवसर त्यति नै चुनौती

लामो समयको प्रतीक्षापछि एक साताअघि त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका रूपमा प्रा.डा केशरजंग बराललाई पाएको छ । अध्ययनका लागि झण्डै एक महिना खर्चेर ४३ जना आवेदकमध्येबाट उपकुलपति छनोट समितिले १४ जनाको ‘सर्टलिष्ट’ सार्वजनिक गर्यो । सर्टलिष्ट सार्वजनिक हुँदादेखि नै उपकुलपति छनोटको निष्पक्षतामाथि थुप्रैले आशंका व्यक्त गरे ।

छनोट प्रक्रियाका विभिन्न चरण पूरा गर्दै समितिले त्रिवि उपकुलपतिका लागि तीनजनाको त्रिवि कुलपति तथा प्रधानमन्त्री प्रचण्डसमक्ष पेस गर्यो । तीनजना मध्येबाट प्रधानमन्त्रीले बराललाई उपकुलपतिमा नियुक्त गरे । उनको नियुक्तिको विषयलाई लिएर प्रतिपक्षी दलहरू मात्रै होइन, सत्तापक्षकै जिम्मेवार नेताले पनि नकारात्मक टिप्पणी गरे । त्रिविको उपकुलपति नियुक्तिमा अपनाइएको प्रक्रिया ‘देखाउने दाँत’मा मात्रै सीमित भएको भन्दै अधिकांशले आलोचना गरे । 

एकातिर ४२ प्रतिस्पर्धीलाई पाखा लगाउँदै एक नम्बरमा आएपछि आफूलाई ‘अब्बल’ प्रमाणित गर्नुपर्ने चुनौती, अर्कोतर्फ आफ्नो नेतृत्वमा त्रिविको गिरेको साख फर्काउने अवसर उपकुलपति प्रा.डा. बरालको काँधमा आएको छ । अहिले उनी आफ्नो टिम तयार गर्न लागिपरेका छन् ।

चारवर्षे कार्यकालमा मजबुत समूह निर्माण गरेर त्रिविका चुनौतीलाई चिर्ने योजनामा रहेका बरालले शैक्षिक क्यालेन्डर लागू गर्ने, समयमा परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन, त्रिवि पाठ्यक्रम अध्यावधिक, मानविकी र शिक्षा संकाय पुनःसंरचना, विद्यार्थीकेन्द्रित शैक्षिक कार्यक्रम र त्रिवि पुनःसंरचना गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

विश्वविद्यालयका कुलपति (प्रधानमन्त्री)सँग आफ्नो काममा हस्तक्षेप गर्न नपाइने सर्तसहित नियुक्ति लिएको दाबी गर्ने बरालले आफ्नै कार्यकालमा विश्वविद्यालयलाई स्कुल मोडलमा सञ्चालन गर्ने योजनासमेत बुनिरहेका छन् । मिल्दाजुल्दा विषयलाई एउटै संकायमा गाभेर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुलाई स्कुल मोडल भनिन्छ ।

उनले गर्नुपर्ने कामको संख्या अनगिन्ती छन् । प्रा.डा बराललाई काम गरेर देखाउनुपर्ने चुनौतीसँगै त्रिविको खस्कँदो शैक्षिक गुणस्तर तथा साखलाई उकास्ने सुवर्ण अवसर पनि छ । राजनीति गर्ने थलोका रूपमा विकसित हुँदै गएको त्रिविलाई हेर्ने नजिरिया परिवर्तन गर्नुपर्नेछ । त्रिविमा राजनीति नभई अध्ययन र अनुसन्धान गर्नुपर्छ भन्ने मानसिकताको विकास गराउनुपर्ने चुनौती पनि उपकुलपति बरालको काँधमा छ । लथालिंगको अवस्थामा रहेको त्रिविलाई सही ट्र्याकमा ल्याउनुपर्ने दायित्व उनमा छ । 



समयमा परीक्षा सञ्चालन र नतिजाका प्रकाशन नहुनु, विद्यार्थीको आकर्षण घट्दै जानु, दैनिकजसो तालाबन्दी हुनुजस्ता समस्या त्रिविका लागि सामान्यजस्तै छ । त्रिविको सबैभन्दा ठूलो समस्या राजनीतिक भागबन्डा र खिचातानी हो । यहाँ हुने राजनीति कसैसामु लुकेको छैन । प्रा.डा बराल आफैँलाई राजनीतिक भागबन्डाबाट नियुक्ति लिएको आरोप छ । यही आरोपलाई खण्डन गर्न पनि त्रिविलाई राजनीतिक हस्तक्षेपमुक्त बनाई, शैक्षिक संस्थाका रूपमा स्थापित गर्नुपर्ने चुनौती उपकुलपति बरालसमक्ष छ ।

अब उनले गर्ने नियुक्तिमा राजनीतिक भागबन्डाले ठाउँ पाउँछ कि पाउँदैन भन्ने विषयले पनि त्रिविको भविष्य निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । उपकुलपति प्रा.डा. बरालले मेरिटका आधारमा आफ्नो अधिकारभित्रका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता त जनाएका छन् । तर, उनको प्रतिबद्धता यथार्थमा परिणत हुन्छ वा हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।



बरालले राजनीतिक दबाबलाई झेल्दै त्रिविको सिंगो टिमलाई साथमा लिएर अघि बढ्न सक्छन् वा सक्दैनन्, त्यसले पनि उनको कार्यक्षमताको मूल्यांकन गर्नेछ । यसअघि पनि पोखरा विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी सम्हालिसकेको अनुभव बरालसँग छ । यस अर्थमा उनले विश्वविद्यालयमा हुने राजनीतिक दाउपेच कस्ता हुन्छन् भन्ने कुरालाई राम्रैसँग बुझेका छन् ।

उपकुलपति एक्लैले विश्वविद्यालय सुधार गर्न सक्दैन भन्ने कुरा राम्रोसँग बुझेका बरालका लागि विभिन्न राजनीतिक भागबन्डाबाट नियुक्ति लिएका, प्राध्यापक, कर्मचारी र राजनीतिक दलनिकट विद्यार्थी संघ–संगठनलाई मिलाएर सँगै लैजानुपर्ने चुनौतीका विषय हुन् । यी सबै पक्षलाई मिलाएर राजनीतिमुक्त विश्वविद्यालय बनाउने अवसर पनि बरालले पाएका छन् ।

त्यस्तै, उच्च शिक्षा अध्ययन गर्ने देशभरका करिब ८० प्रतिशत विद्यार्थीको भविष्यलाई आफ्नो गर्भमा राखेको त्रिविले विश्वबजारले मागेबमोजिमाको दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने चुनौतीको सामना गरिरहेको छ, जसलाई उपकुलपतिको हैसियतमा बरालले सहजता प्रदान गर्नुपर्नेछ ।

भीमकाय संरचना भएको त्रिविको जग्गा भाडामा लिने नाममा विभिन्न व्यक्ति तथा संस्थाले कब्जा गर्ने प्रयास गरिरहेका छन् । जसलाई फिर्ता ल्याउनुपर्नेछ । दलीयकरणको चक्रव्यूहमा फसेको त्रिविलाई प्राज्ञिक थलोका रूपमा विकास गर्नुपर्ने विषयलाई पनि बरालले आफ्नो कार्ययोजनामा समेट्नुपर्नेछ ।

६५ वर्ष लामो इतिहास बोकेको त्रिविलाई जोगाउने मात्रै होइन, विश्वबजारमा आफूलाई अब्बल प्रमाणित गर्नुपर्नेछ । बरालको नेतृत्वले त्रिविलाई आमविद्यार्थीको आकर्षणको केन्द्र बनाएमा अध्ययनका लागि विदेशिने विद्यार्थीको संख्यामा पक्कै कमी आउनेछ । 

गत कार्तिक १७ गते त्रिवि उपकुलपतिबाट बाहिरिने क्रममा प्रा.डा. धर्मकान्त बास्कोटाले त्रिवि आर्थिक अभावमा गुज्रिरहेको भन्दै इच्छाशक्तिले मात्रै समस्याको समाधान हुन गाह्रो रहेको संकेत गरेका थिए । जुन समस्या समाधानका लागि वर्तमान उपकुलपति बरालले सरकार र दातृनिकायसँग आवश्यक समन्वय गर्नुपर्नेछ । 

विश्वविद्यालय आफैँमा स्वायत्त संस्था भएकाले प्राध्यापक तथा कर्मचारीको तलब भत्ता र दैनिक कार्यसञ्चालनका लागि थप आर्थिक स्रोत पहिचान गर्नु पनि नयाँ उपकुलपतिका लागि चुनौतीको विषय हो । तलब–भत्ताका लागि सधैँ सरकारको मुख ताकिरहनुपर्ने बाध्यता अन्त्यका लागि पनि त्रिविले आवश्यक कदम चाल्नुपर्नेछ । 
 
यसअघिका उपकुलपतिहरूले गर्न नसेकेका यी काम बरालले गरे भने त्रिविको इतिहासमा उनको नाम स्वर्णिम अक्षरले लेखिनेछ । यसअघिका अधिकांश उपकुलपतिले झैँ भित्तामा तस्बिर टाँग्ने र चारवर्षे जागिर पकाउनेमा प्रा.डा.बराल सीमित नहोऊन् । उनलाई सफल कार्यकालको शुभकामना ! 

  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार २१:८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया