उपनिर्वाचन चहलपहल : इलाममा रास्वपाले खटायो सांसदको टोली

आगामी १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको चहलपहल बढेको छ । उम्मेदवारको टुंगो नलागे पनि विभिन्न पार्टीका नेताहरूको भ्रमण बढ्न थालेको छ ।

यहीक्रममा निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता र सांसदलाई परिचालन गरेको छ । रास्वपाले शुक्रबार इलाम पुग्ने गरी सांसद परिचालन गरेको हो । 

उनीहरूले शनिबारदेखि विभिन्न पालिकामा स्थलगत भ्रमण गरी निर्वाचनमा आफ्नो पार्टी र उम्मेदवारको पक्षमा वातावरण बनाउन ६ जना नेता तथा सांसदलाई परिचालन गर्दैछ ।

उनीहरूले पालिकाका विभिन्न क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग छलफल गर्ने जनाइएको छ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा इलाम क्षेत्र २ मा खटाइएको छ ।

यस्तै, सांसद सोबिता गौतमलाई जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिका, गणेश पराजुलीलाई देउमाई नगरपालिका, अशोक चौधरीलाई चुलाचुली गाउँपालिका, हरि ढकाललाई माङसेबुङ गाउँपालिका, मनिष झालाई माई नगरपालिका र असिम शाहलाई फाकफोकथुम गाउँपालिकामा खटाइएको पार्टीले जनाएको छ । 

संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले) सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि रिक्त भएको इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो ।



उक्त क्षेत्रमा प्रमुख पार्टीहरू नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेलगायत कसैले पनि हालसम्म उम्मेदवारको टुंगो लगाइसकेका छैनन् । उम्मेदवारको टुंगो नलागे पनि नेताहरूको जिल्ला र सम्बन्धित क्षेत्र भ्रमण बाक्लिएको इलामका सञ्चारकर्मी सोमनाथ अधिकारीले बताए ।

२०७९ सालको निर्वाचनमा नेम्बाङ नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कासँग १ सय १४ मतको फरकले विजयी बनेका थिए । नेम्वाङले ३० हजार २० मत पाएका थिए भने खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । उक्त क्षेत्रमा पहिचान पक्षधर दलहरूले साझा उम्मेदवार दिनेबारे छलफल थालेका छन् ।



एमालेबाट नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङ, बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी उम्मेदवारको चर्चामा छन् । यस्तै, कांग्रेसबाट जिल्ला सभापति खड्का, नेताहरू भेषराज आचार्य, पूर्वराज्यमन्त्री केशव थापा, संविधानसभा सदस्य नगेन्द्र कुमाललगायतको चर्चा छ ।

  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १३:३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया