मुख्यमन्त्री कप राष्ट्रिय भलिबलको उपाधि एपिएफलाई

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले संखुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । 

आज भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१  सेटले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो । एपिएफ क्लबले १४–२५, २५–२३, २५–२१ र २५–२१ अंकले जितेको हो । 

उपाधि विजेता एपिएफले नगद तीन लाख, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । उपविजेता गण्डकी प्रदेशले नगद एक लाख ५० हजार,  प्रमाणपत्र र ट्रफी हात पारेको छ ।

त्यसैगरी, नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । पुलिसले आर्मीलाई ३–१ सेट अंकले पराजित गरेको हो । तेस्रो पुरस्कार प्राप्त गर्न सफल नेपाल पुलिस क्लबले नगद नगद ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी त्रिभुवन आर्मी क्लबले सान्तवना पुरस्कार ३० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । 

पुरस्कार वितरण कार्यक्रममा बोल्दै कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकारले नयाँ रणनीति बनाएर अघि बढ्ने बताए । उनले प्रदेश सरकारले सम्पूर्ण खेलमा विकासमा प्रतिबद्ध भएर लाग्ने बताए । 

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ संखुवासभाको संयोजनमा प्रतियोगिता फागुन १५ देखि सुरु भएको थियो । प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिएको भलिबल संघका केन्द्रीय सदस्य प्रवीण श्रेष्ठले बताए । 



प्रतियोगितामा उत्कृष्ट खेलाडी एपिएफका विजय थापा, उत्कृष्ट स्पाइकर गण्डकी प्रदेशका रवि केशीले हात पारेका छन् । त्यस्तै, उत्कृष्ट सटर एपिएफका लोकेन्द्र गिरी, उत्कृष्ट सरभर एपिएफका विश्वास अधिकारी, उत्कृष्ट ब्लकर गण्डकीका सरोज बर्देवा, उत्कृष्ट लिबेरो एपिएफका विनोद चन्द र उत्कृष्ट प्रशिक्षक एपिएफका पुष्पजंग मल्ललाई पुरस्कृत गरिएको छ । 

प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लबसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका टिमको सहभागिता थियो । 



  • प्रकाशित मिति : फागुन १९, २०८० शनिबार २२:३२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया