लगातारको हिमपातले कर्णाली राजमार्ग अवरुद्ध

लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडक खण्ड अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा जमेको हिउँ सडक डिभिजन कार्यालय जुम्लाले पन्छाएर सुचारु गरेको थियो । शुक्रबारदेखि लेकतिर हिउँ र बेँसीतिर पानी पर्न थालेपछि सडक पुनः अवरुद्ध भएको हो । 

सडक अवरुद्ध हुँदा मुगुबाट बाहिरी जिल्लामा जाने र बाहिरी जिल्लाबाट आउने सवारी साधन बाटोमै रोकिएका छन् । झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्ट्टिचौर र मुगु–जुम्ला सिमानामा पर्ने बुलबुलेमा बाक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले बताए । मौसममा सुधार आउना साथ सडक रक्षक र स्काभेटरको प्रयोगले हिउँ हटाइने उनको भनाइ छ ।

कार्यालयले एक सूचना जारी गरी हिउँ निरन्तर परिरहेकाले यस खण्ड भएर यात्रा गर्ने सबैलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र गर्नै परे सुरक्षित उपाय अपनाउन अनुरोध गरेको छ ।  

सडक अवरुद्ध हुँदा नेपालगञ्ज, सुर्खेतबाट व्यापारिक तथा अन्य निर्माण सामग्री बोकेर आएका मालबाहक सवारी साधन बुलबुलेमा रोकिएका छन् । नाग्म– गमगढी सडकको यो खण्ड उच्च हिमाली भाग भएकाले हिउँदमा हिउँ जमेर र वर्षामा पानीले पर्दा पहिरो आएर अवरुद्ध हुने गर्दछ । नेपालकै ठूलो तथा गहिरो रारा ताल र नेपाली भाषाको उदगमस्थल सिञ्जा उपत्यका यही सडक भएर जाने भएकाले यो सडक सधैँ व्यस्त हुने गर्दछ ।

पर्यटकीय सडक भएकाले पर्यटकले दुःख भोग्न नपरोस् भनेर सडक डिभिजनले अवरोध हटाउन स्काभेटर र सडक रक्षक तैनाथ अवस्थामा राख्दै आएको छ । साथै सडक स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइरहेको कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार १६:३७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया