उदयपुरको सिद्धिपुरबाट एक वर्षमा २ करोडको बेसार बिक्री
फाइल तस्बिर

उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष २ करोड रुपैयाँ मूल्य बराबरको बेसार बिक्री भएको छ । वि.सं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । 

सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले  सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरूपमा नै बेसार खेती गर्दै आएका बताए ।

स्थानीयवासी देवबहादुर मगरले भने, ‘२०५० सालतिर देखिनै गाउँमा बेसार खेती सुरु भएको हो । २०६० सालदेखि सबै गाउँलेले व्यावसायिकरूपमा नै बेसार खेती गर्न थालेपछि अहिले गाउँ नै बेसार खेतीमय भएको छ । ’

उनका अनुसार अहिले गाउँबाट वार्षिक २ करोडभन्दा बढीको बेसार बिक्री हुने गरेको छ । अर्का कृषक इन्द्रबहादुर मगरले नयाँ आधुनिक प्रजातिको सुगन्धा बेसार उत्पादन हुन थालेपछि खेती र उत्पादनमा वृद्धि भएको बताए । उनका अनुसार एक घरले वार्षिक झण्डै तीन लाखभन्दा माथि बेसार उत्पादन गरेर बिक्री गर्ने गरेका छन् ।

किसान सन्तबहादुर मगरले २०७३ सालदेखि यस क्षेत्रको बेसार मङ्सिर पुस महिनातिर नै विराटनगरका व्यापारीले  खरिद गर्न आउने गरेको जानकारी दिए । 

पछिल्लो समय सिद्धिपुरवासीको आर्थिक आम्दानीको स्रोत नै बेसार भएको चौदण्डी–६ का वडा सदस्य देवी मगरको भनाइ छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले उदयपुर जिल्लामा ५५९ हेक्टर क्षेत्रफलमा बेसार उत्पादन हुँदै आएको छ । 



केन्द्रका सूचना अधिकारी तथा अधिकृत फूलमाया शेर्पाले सबैभन्दा बढी बेसार उत्पादन पाकेट क्षेत्रको रुपमा सिद्धिपुर क्षेत्र रहेको बताए ।

यसैगरी त्रियुगा नगरपालिकाको साउने, खाँबु, रौतामाई गाउँपालिकाको आँपटार, उदयपुगढी गाउँपालिकाको भलायाडाँडा, डुम्रेसहित कटारी नगरपालिकाको रिस्कु सोमबारे र बेलका नगरपालिकाको मैनामैनी महत्वपूर्ण बेसार उत्पादन क्षेत्र रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस 



  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार ९:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया