नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल आज, यस्तो छ ‘हेड टु हेड’ नतिजा
प्लेइङ-११ मा एक परिवर्तनको सम्भावना
तस्बिर : क्यान

त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिहान साढे ११ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।  

नेपाल लगातार तेस्रो जित निकालेर सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ । नेपालले सिरिजको पहिलो र दोस्रो खेल गुमाए पनि पछिल्लो दुई खेल भने लगातार जित्यो । यता नेदरल्याण्ड्सले लिग चरणको अन्तिम खेलमा नामिबियासँग अंक बाँड्यो । पानी परेपछि खेल प्रभावित हुँदा उसले नामिबियासँग अंक बाँडेको हो ।

लिग चरणमा नेदरल्याण्ड्सले चारमध्ये दुईमा जित, एकमा हार तथा एक खेलमा अंक बाँड्यो । हालसम्म नेपाल र नेदरल्याण्ड्सले ११ वटा टी–२० आईमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका छन्, जसमा दुवै टिमले ५/५ खेल जितेका छन् । नेपाल र नेदरल्याण्ड्सबीचको एक खेल भने वर्षाका कारण रद्द भएको विगत छ । 

फाइनल खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । मंगलबार नेपालले आसिफ शेखलाई विश्राम दिएर अनिल साहलाई मौका दिने सम्भावना रहेको हो । आसिफले पछिल्लो दुई खेलमा खराब ब्याटिङ गरेका छन् । उनी शुक्रबार एक र शनिबार ८ रनमा आउट भए । 

समग्रमा आसिफले जारी श्रृंखलामा चार खेलमा मात्र ४९ रन जोडेका छन् । त्यसकारण लयमा नदेखिएका उनलाई विश्राम दिएर मुख्य प्रशिक्षक मोन्टी देसाईले फाइनलमा अनिललाई मौका दिन सक्छन् । अनिलले जारी सिरिजको तेस्रो खेल मात्र खेल्न पाएका थिए । जसमा उनले १७ बलमा तीन छक्कासहित २३ रनको पारी खेलेका थिए । 



जारी सिरिजमा ब्याटिङतर्फ कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र गुलशन झाले राम्रो प्रदर्शन गरेका छन् । बलिङतर्फ दीपेन्द्र र कुशलसहित प्रतिश जिसी र करण केसी केही लयमा देखिएका छन् । उता विपक्षी टिम नेदरल्याण्ड्सका लागि माइकल लेभिट, साइब्रान्ड एंगलब्रेच्टले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । 



लेभिटले चार खेलमा एक शतक र एक अर्धशतकको मद्दतमा सर्वाधिक १९३ रन बनाएका छन् । यस्तै, जारी सिरिजमा बलिङतर्फ भिभियन किंग्माले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ४ खेलमा ६ विकेट लिएका छन् । किंग्माले शनिबार ४ ओभरमा १७ रन दिएर सर्वाधिक तीन विकेट लिएका थिए ।  

  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार ६:३४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया