चरन क्षेत्रको अभावमा हिमाली भेगमा सारिँदै भेडीगोठ

बेँसी झारिएका भेडीगोठलाई  हिमाली भेगतिर लान थालिएका छन् । जाडो छल्न र बारी मल्न वस्तीसम्म भेडीगोठलाई सारिएका थिए ।  हिमालबाट जाडो छल्न आएको भेडीगोठ लामो समयसम्म बेँसी बस्न नपाउने जनाइएको छ । 

गाउँवस्तीमा खेती गर्ने समय सुरु भएसँगै वस्तीसँग भेडीगोठको सम्बन्ध छुट्नु एक बाध्यता पनि हो । वस्ती नजिक रहेका खाली चरन क्षेत्रमा अहिले अलैंची बगान विस्तार भएसँगै भेडीगोठ गाउँबस्तीमा धेरै समयसम्म बस्न सक्दैन । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने रूपेश लिम्बूको रात त्रिपालमुनि बित्ने गरेको छ ।​

फक्ताङलुङ गाउँपालिका–४ पिपुथापका उनी कहिले हिमालको फेदी त कहिले बस्तीतिर भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । आफ्नो पुर्ख्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ बसेका हुन् । 

सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अँगालेका उनी अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वनजङ्गल, बुकी र खर्कमा भेटिन्छन् । उनले करिब तीन सय बढी भेडाबाख्रा पालेका छन् । हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्याउने गरिन्छ ।

फुङ्पलिङ नगरपालिका–१० फावाखोलाको गोपाल विष्टको भेडीगोठ अहिले वस्तीदेखि अलिक माथि साम्लिङ खर्कमा उक्लेको छ । गाउँदेखि उक्लेको भेडीगोठ अब वैशाखे हुँदै फक्ताङलुङ गाउँपालिकामा रहेको विश्वको अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्नेछन् । 

किसान लिम्बू करिब तीन महिनासम्म मिक्वाखोला गाउँपालिका–५ समुद्र सतहबाट चार हजार पाँच सय मिटरमा रहेका लोदेन क्षेत्रसम्म पुग्ने गर्छन् । फेम्बू गाउँको फेदी हुँदै बग्ने खोक्सेवा खोला किनारमा रहेका बारीको फाँटमा उनको भेडीगोठ राखिएको छ । 



घुम्ती गोठका भेडालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ ।

‘वैशाख–जेठसम्म्म अब पहाडका फाँट र जङ्गलमै भेडीगोठ राख्छौँ, जेठको अन्तिमतिर मात्रै हिमाली बुकीहरूमा पुग्छन् गोठ, धवलागिरि हिमालको आधार शिविरसम्म नै गोठलाई लैजाने गर्छौँ’, उनले भने ।



घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुर्ख्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको फक्ताङलुङ गाउँपालिका–६ का भेडापालक किसान विशाल लिम्बूले बताए । उनले भने, ‘पहिले गाउँका सबैको गोठ थिए, भेडाबाख्रा र गाईभैँसीलाई घुम्ती गोठ राखेर पालन गरिन्थ्यो, आजभोलि त्यो परम्परागत पेसा हराएर जान थालेको छ, हाम्रो बाबुबाजे सबैले यहीँका भिरपाखामा पसिना बगाउनुभएको छ, हाम्रो जिजुहरूले पनि भेडापालन नै गर्नुभएको थियो, पुर्खाको पेसालाई पछ्याउँदै म पनि भेडीगोठ पसेको हुँ ।’  

सहरको सुविधालाई छाडेर गाउँ पसेकामा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको लिम्बू बताउँछन् । लिम्बूसँग अहिले दुई सयवटा भेडा छन् । अहिले वार्षिक ५ देखि ६ लाख रुपैयाँसम्मको भेडाबाख्रा बिक्री हुने गरेको बताउँछन् । ‘भेडाको बजारीकरणमा समस्या छैन, भेडा साँढ र खसीबोको खोज्दै ग्राहक गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन’, बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाव नहुने भए पनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाव हुने भेडापालक किसान बताउँछन् ।  

दसैँ र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीसमेत गोठमा पुगेर भेडा, खसी खरिद गर्ने गर्छन् भने देवीदेवताको थानमा पूजा गर्न र भाकल पूरा गर्नसमेत साँढ र बोका धेरै खपत हुने गरेको भेडापालक किसानको भनाइ छ ।  

हिमाली बुकीमा पालिने भएकाले भेडीगोठका भेडाको माग अत्यधिक हुने गर्छ । भेडापालन पेसा अधिकांश समय वनजङ्गलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्किल पर्छ । रासस  

  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १२:३५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया