आन्दोलनमा मृत्यु भएकालाई पाँच लाख रुपैयाँ दिने कोशी सरकारको निर्णय

कोशी प्रदेश सरकारले पहिचान पक्षधरको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने भएको छ । आज बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले राहत सहयोग दिने निर्णय गरेको हो ।

प्रदेशसभाले तत्कालीन प्रदेश १ को ‘कोशी’ नामकरण गरेपछि असन्तुष्ट बनेका पहिचान पक्षधरले आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच पटक पटक झडप भएको थियो ।

त्यस क्रममा गत वर्ष चैतमा भएको कोशी नाम खारेजीको मागसहितको आन्दोलनका क्रममा विराटनगरमा भएको प्रदर्शनमा पदम लिम्बू लाजेहाङ घाइते भएका थिए । उपचारका क्रममा केही दिनपछि उनको मृत्यु भएको थियो । उनका परिवारलाई राहत दिने सरकारले निर्णय गरेको हो ।

यसैगरी, आन्दोलनका क्रममा घाइते भएकाहरूको छानबिनका लागि समिति गठन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

उक्त समितिले आन्दोलनका घाइतेको पहिचान गरेपछि उपचारलगायत विषयमा प्रक्रिया अघि बढ्ने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले बताए ।

प्रदेश सरकार र पहिचान पक्षधर संगठनका प्रतिनिधिबीच पछिल्लो पटक दुई चरणमा वार्ता समेत भएको थियो । वार्तामा पुनः नामकरणको विषय उठाइएको थियो । त्यस सम्बन्धमा थप छलफल गर्ने गरी दुई पक्षबीच वार्तालाई निरन्तरता दिने सहमति भएको थियो । 





  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १४:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया