सत्ताको लोभमा रास्वपाले बिर्सियो १७००+२, एमालेका लागि रहेन माओवादी ‘विदेशी दलाल’ ? [भिडियोसहित]
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुष्पकमल दाहाल प्रचण्डको चतुर्याँईले फेरि पनि सफलता पाएको छ । यता नभए उता छँदै छ भनेर घुर्की लगाउने प्रचण्डको बानीले कहिले एमाले त कहिले कांग्रेस ट्वाँ पार्दै आएको छ ।      

जति धोका खाए पनि प्रचण्डको मोहबाट न त काँग्रेस उम्किन सकेको छ न त एमाले नै । अब हुँदाहुँदा पुरानो पार्टीले केही गरेनन् अब युवा जागृत हुनुपर्छ भन्दै आदर्शवादी भाषण ठोक्ने नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीसमेत आएको एक वर्षमै प्रचण्डको खुट्टा मिच्न थालिसकेको नयाँ गठबन्धनले देखाइसकेको छ । 

गत वर्ष फागुनमा कांग्रेससँगको गठबन्धनमा फर्किँदै गर्दा प्रचण्डले आफूलाई एमालेसँग रहँदा उकुसमुकुस भएको बताएका थिए । एमालेलाई प्रतिगमनकारीको संज्ञा दिँदै आएका प्रचण्डले आज त्यही एमालेसँग हात मिलाएपछि यसलाई ठूलो उपलब्धिका रुपमा अर्थ्याएको छन् । उनले यसलाई कम्युनिष्ट एकताको प्रयासका रूपमा पनि व्याख्या गरेका छन् । 

झन्डै एक वर्षपछि फेरि सत्ताको सिँढी चढेको एमाले भने आफ्नो प्रयास सफल भएकोमा दङ्ग छ । नयाँ समीकरण निर्माणपछि एमाले अध्यक्ष ओलीले आफूहरू नयाँ ढंगले अगाडि बढ्न खोजिरहेको बताएका छन् । तर, एमाले त्यही पार्टी हो जसले नेकपा माओवादी र उसका अध्यक्ष प्रचण्डलाई ‘विदेशी प्रतिक्रियावादीहरुको इच्छा पुरा गर्न वचनबद्ध भएको’ बताउँदै आएको छ ।

‘विभिन्न शक्ति केन्द्रहरूको उक्साहटमा राजनीतिलाई अस्थिर, प्रतिगामी र जनविरोधी बाटोमा अग्रसर बनाउन माओवादीका नेताहरु निरन्तर मुख्य भूमिकामा देखिएको’कुरा एमालेले आफ्नो दस्तावेजमै उल्लेख गरेको छ । 



संसदीय अङ्क गणितमा प्राप्त भएको संख्यालाई सत्ताको सौदाबाजीका निम्ति प्रयोग गर्ने उनको व्यवहारले राजनीति थप विकृत, बदनाम  र विवादित बन्न पुगेको छ । यी सम्पूर्ण कुराहरू नेकपा एमालेको आधिकारिक दस्तावेजमा लेखिएका छन् । र, नयाँ गठबन्धन बन्दासमेत एमालेले यी सम्पूर्ण कुराहरू दस्तावेजबाट भने हटाइएको छैन ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारी घटनापश्चात् सडकमै आएर १७००+२ को ब्यानर बोकेर प्रचण्डलाई दोषी देखाएको तीन महिना मात्र हुँदैछ । युवा नआई केही हुँदैन, युवाले देश बनाउँछ भनेर घण्टी बजाउँदै आएको राष्ट्र स्वतन्त्र पार्टीले पनि उही पुरानै बाटो समात्न सुरु गरेको देखिन्छ । आखिरमा यो गठबन्धन पनि सत्ताकै लोभले मात्र बनेको छभन्दा खास्सै फरक नपर्ला ।



सत्ता स्वार्थका निम्ति ओली र प्रचण्ड फेरि मिलेभन्दा जनतालाई केही फरक पर्न छाडिसकेको छ । तर, हिजोसम्म त्यही प्रचण्ड, त्यही ओलीले देश बिगारे, प्रचण्ड सरकारले जनता समेत मारे भनेर सडकमा ओर्लिएको राष्ट्रिय रवि लामिछानेले नेतृत्व गरेका रास्वपा पनि सत्ताको चास्नीमा डुबेको देख्दा जनता पनि तीन छक्क परेका छन । ‘जुन जोगी आए पनि कानै चिरेको’ त्यसै भनिएको होइन रहेछ । 

उता नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई यो नयाँ गठबन्धन धेरै दिन टिक्छ भन्ने लागेकै छैन । उनले भनेका छन्, ‘गठबन्धन कुनै राजनीतिक स्थायित्वका लागि होइन बाँडीचुडी खान सत्ता स्वार्थमा टिकेको अवसरवादी गठबन्धन हो ।’   

  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार १६:५८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया