गगन थापा भन्छन्- चेत खुल्यो, अब कसैले चुनाव अघि गठबन्धन कल्पना गर्न सक्दैनन्

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना समेत गर्न नसक्ने बताएका छन् । ललितपुरमा आइतबार आयोजित ललितपुरको गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा बोल्दै उनले चुनावअघिको गठबन्धनले राजनीतिलाई एकदमै भ्रष्ट र लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको उनले बताए । 

माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ समीकरण बनाएको घटनाले चेत खुलेको भन्दै कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनासमेत गर्न नसक्ने उनले जिकिर गरे । ‘कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन हुँदैन,’ उनले भने । नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने समयसँगै खुल्दै जाने बताएका थापाले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको भनाइ राखे । 

‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ । यसको भित्र अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाला । एउटा कुरा खुसी लागेको छ । नेताहरू मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा सुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लिएर गएको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो र त्यसले थप खोक्रो बनाउँथ्यो,’ उनले भने, ‘अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन । किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसाबकिताब नै हुन सक्दैन । यो मानेमा हेर्ने हो भने सबैलाई चेत खुलेको छ । राजनीतिमा  भ्रष्टीकरणको बाटो लागिरहेका थियौं, यो प्रकरणले सबैलाई सन्देश दिएको छ ।’

चुनावअघिको गठबन्धन गर्ने प्रवृत्तिले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाउँदै लगेको टिप्पणी उनले गरे । साना दलहरू दोकान खोलेर बस्ने र कहिले यताउता जाने आधार मिश्रित निर्वाचन प्रणाली बनेको उनको भनाइ छ । 

उनले भने, ‘यो कुराले हाम्रो निर्वाचन प्रणाली नै बदल्नुपर्ने कुरामा समेत लिएर जान्छ । संसदमा सबैको समावेशी सहभागिता भएन, थरी थरीका मानिस छौँ । सबैको प्रतिनिधित्व भएन त्यस कारण एउटा निर्वाचन प्रणाली बनाउनुपर्‍यो भनेर मिश्रित निर्वाचन प्रणाली बनाऔँ तर यो यसलाई पनि यति विकृत बनाऔँ अहिले साना दलहरू दोकान खोलेर बस्ने र च्याँखे थापे झैँ कहिले यता उता जाने सबै आधार निर्वाचन प्रणालीले बनाइदिएको छ ।’  





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १७:३३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया