गण्डकीकाे मुख्यमन्त्रीमा चुमानकाे धाेकाे, राप्रपाकाे अनिर्णयले बीचैमा राेक्याे

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलले गण्डकी प्रदेशको सत्ता-राजनीतिमा देखिएको अन्योलता हटाएर सहज राजनीतिक निकास दिन दलहरुलाई आग्रह गरेको छ । 

दलको आजको बैठकले परिवर्तित सन्दर्भमा नयाँ सरकार निर्माण प्रक्रियामा सहज र स्वाभाविक राजनीतिक निकासका लागि सहयोग गर्न दलहरुलाई आह्वान गर्ने निर्णय गरेको प्रमुख सचेतक कुसुम बुढा पुनले जानकारी दिए । 

'बैठकले गण्डकी प्रदेश सरकार कामचलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने निर्णय नगर्न र कामकारबाही अगाडि नबढाउन सरकारलाई सचेत गराउने निर्णय गरेको छ,' उनले भने । सो बैठकले माओवादी केन्द्रका तर्फबाट अन्य राजनीतिक दल र पक्षसँग आवश्यक संवाद तथा समन्वयका लागि दलका नेता हरिबहादुर चुमानलाई जिम्मा दिने निर्णय गरेको छ । 

माओवादी केन्द्रले यही फागुन २३ गते समर्थन फिर्ता लिएसँगै कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । त्यसअघि फागुन २२ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदमुक्त गरेका थिए । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गण्डकी प्रदेश सरकारमा पनि त्यसको असर देखिएको हो । 

नयाँ बनेको गठबन्धनअनुसार गण्डकी प्रदेशमा सरकार बन्न नसक्ने अवस्था छ । प्रदेशसभामा दुई सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नयाँ गठबन्धनका लागि निर्णायक हुने देखिएको छ । तर, राप्रपाले गठबन्धनलाई समर्थन गर्ने/नगर्नेबारे कुनै निर्णय गरेको छैन । अहिलेकै स्थितिमा कांग्रेसले पनि सरकार गठन गर्न सक्ने स्थिति छैन । राप्रपालाई साथमा लिँदा पनि कांग्रेसको बहुमत पुग्दैन । 

कूल ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, नेकपा (एमाले)का २२, माओवादी केन्द्रका सात (सभामुखबाहेक), राप्रपाका दुई र एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । 





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार १७:३४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया