गण्डकी प्रदेश : दीपक मनाङेले लिए मन्त्रीकाे शपथ
'धेरै बजेट र भ्रष्टाचार पनि धेरै हुने भएकाले भौतिक मन्त्रालय राेजेँ'

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश प्रमुखको निवासमा आज आयोजित एक कार्यक्रमबीच मन्त्री गुरुङलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । शपथग्रहण समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, सरकारका मन्त्री तथा उच्चपदस्थ अधिकारी उपस्थिति थियो ।

मुख्यमन्त्री  पाण्डेले गुरुङलाई आज नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित मन्त्री नियुक्त गरेका थिए । मनाङबाट प्रदेशसभा सदस्यमा स्वतन्त्र चुनाव निर्वाचित भएपछि नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका गुरुङले आइतबार सो पार्टी परित्याग गरेको प्रदेशसभा सचिवालयमा जानकारी गराएका थिए । 

शपथपछि पत्रकारसँगको कुराकानीमा मन्त्री गुरुङले चुनावपछिको एक वर्षसम्म आफू आराम गरेर बसेको जनाउँदै अबको चार वर्ष राजनीति गर्ने बताए । केन्द्रमा जे समस्या आएर गठबन्धन फेरिए पनि त्यसको असर प्रदेशमा पर्न नहुने उल्लेख गर्दै उनले आफू अहिले सरकारमा नजाँदा गण्डकी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना रहेको र चुनावमा जाँदा खर्च धेरै हुने बताए । आफूले मध्यावधिमा जान नदिने र गएछ भने चुनाव पनि नलड्ने उनको भनाइ छ । 

सरकारको ७० प्रतिशतभन्दा बढी बजेट भौतिक पूर्वाधार मन्त्रालयमा हुने र भ्रष्टाचार पनि धेरै हुने भएकाले त्यसको नियन्त्रणका लागि आफूले उक्त मन्त्रालय रोजेको उनको भनाइ छ । विकास त्यतिकै भइहाल्ने जनाउँदै उनले भ्रष्टाचार रोक्नुपर्ने आवश्यकता औँल्याए । 





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १९:२३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया