वैदेशिक रोजगारीमा ठगी : आफन्त नै बिचौलिया

आफन्त नै विचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिनेक्रम बढेको छ । म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिनेक्रम बढेको हो । 

सरकारले मान्यता नदिएका म्यानपावर तथा बिचौलियाको माध्यमबाट वैदेशिक रोजगारको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढ्दै गएको आप्रवासी स्रोत केन्द्र विराटनगरले जनाएको छ । 

केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्म मात्रै मोरङमा वैदेशिक रोजगारीमा जाने १ सय ६ जना ठगिएका छन् । ठगिएकाले मोरङ प्रशासन तथा आप्रवासी स्रोत केन्द्रमा उजुरीसमेत दिएका छन् । जसमा हालसम्म मात्र १७ जनाले न्याय पाउँदा प्रमाणको अभावमा धेरै पीडितहरूले न्याय पाउन सकेका छैनन् ।

आप्रवासी श्रोत केन्द्र, मोरङका संयोजक दीपक राउतले चालू आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्म ठगी सम्बन्धी १०६ वटा केस प्राप्त भएको बताए । उनले १७ वटा समाधान भएको र त्यसबाट प्राप्त रकम १ करोड १३ लाख ४३ हजार ५ सय रहेको बताए ।  



वैदेशिक रोजगारीमा जानेहरूलाई उचित परामर्शका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आप्रवासी स्रोत केन्द्र स्थापना गरेको छ । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा केन्द्रको सहायता कक्ष राखिएको छ । सहायता कक्षबाट वैदेशिक रोजगारीमा जानेहरूलाई निःशुल्क परामर्श, आवश्यक कानूनी सहायता र सीपमूलक तालिमसमेत उपलब्ध गराउने गरिएको छ । 

यद्यपि, आफन्त तथा बिचौलियाको लहलहैमा लागेर ठगिने क्रम बढेको परामर्शकर्ताहरू बताउँछन् । आप्रवासी केन्द्र मोरङका परामर्शकर्ता सरोजकुमार खनालले वैदेशिक रोजगारीमा ठगीमा पर्ने र विदेश गइसकेपछि ठगीमा पर्नेहरूलाई पनि केन्द्रले सहजीकरण गरेर घर फर्काउने काम गरेको बताए । 



वैदेशिक रोजगारीमा जान चाहनेलाई केन्द्रले निःशुल्क सीप तालिम दिने गरेको उनले बताए । अघिल्लो वर्षहरूमा खाडी मुलुकसँग सम्बन्धित ठगिएका घटनाहरू बढी आउने गरेका थिए । तर, पछिल्लो समय युरोपियन मुलुकमा पठाउनेहरूबाट पनि ठगी भएको भन्दै उजुरी प्राप्त हुन थालेको छ ।

मलेसिया, साउदी, दुबई, माल्टा र रोमानियामा साथै पछिल्लो समय क्यानडा, अस्ट्रेलिया, पोल्याण्ड र जापान पठाउनेहरूले पनि ठगी गर्ने गरेको घटना बाहिर आउन थालेको मोरङ प्रशासनले जनाएको छ । 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले अहिले धेरै नै युवापुस्ता ठगिएको बताए । उनले अहिले अस्ट्रेलिया, जापान पठाइदिन्छु भनेर उतै बसेको मानिसले नेपालमा एजेन्टमार्फत पैसा लिएर ठग्ने गरेको पाइएको बताए ।   

सहायक प्रजिअ प्रदीप साह

वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेपछि मोरङ प्रशासनले सरकारद्वारा मान्यता प्राप्त म्यानपावरबाट मात्रै प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । म्यानपावर र वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।  

  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १२:२३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया