केन्द्रीय सदस्य रामकुमार शर्माले छाडे माओवादी केन्द्र, लगाए नेताहरू भ्रष्टाचारमा लिप्त भएको आरोप

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी छोडेको घोषणा गरेका छन् । संविधान सभा सदस्य समेत रहेका शर्माले बिहीबार पार्टी परित्याग गरेको घोषणा सामाजिक सञ्जालबाट गरेका हुन् । 

पहिले माओवादीमा संलग्न हुँदा आफूले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको काममा आकाशपतालको फरक पाएको गुनासो गर्दै माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आफूलाई आत्मग्लानि भएकोले पार्टी त्यागेको उनले बताएका छन् । 

‘महान् जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानि मात्रै भएको छैन १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको जनयुद्धलाई नै कलङ्कित गर्ने काम भइरहेको महसुस गरेको छु’ शर्माले फेसबुकमार्फत भनेका छन् ।

साथै द्वन्द्व कालमा माओवादीले उठाएको मुद्दाबाट माओवादी च्युत हुँदै गएको र माओवादी पार्टी, पार्टी नभएर गुटैगुटका महासंघमा रूपान्तरण भएकाले पार्टी छाड्नु परेको निष्कर्ष शर्माले निकालेका छन् । 

१७ हजार नागरिकको ज्यान लिएको माओवादी सशस्त्र द्वन्द्वलाई कलङ्कित गर्ने काम शीर्ष नेताबाट भएको,प्रधानमन्त्रीको भाषणमा सुशासन भए पनि उनैले नेतृत्व गरेको पार्टीका नेताहरू भ्रष्टाचारको काण्डै काण्डमा मुछिएको भन्दै शर्माले पार्टी त्यागेको जनाएका छन् । 

उनले जनादेश विपरीत विदेशी शक्तिको आड भरोसामा सरकारमा रहनकै लागि माओवादीले पटक–पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरतातिर धकेलेर देशलाई विदेशीको क्रिडास्थल बनाएको आरोप पनि लगाएका छन् ।  





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार ११:७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया