विश्वप्रकाश लक्षित ओलीको टिप्पणी : गालीको कुटिर उद्योग कांग्रेसले नै चलाइरहेको छ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले नै गालीको कुटिर उद्योग चलाइरहेको आरोप लगाएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति इंगित गर्दै कांग्रेसले नै गालीको कुटिर उद्योग चलाइरहेको बताए । केही दिनअघि प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा महामन्त्री शर्माले कम्युनिष्टहरुको सत्ता समीकरण बनेसँगै अब गालीको कुटिर उद्योग बन्द हुने भन्दै अध्यक्ष ओलीप्रति टिप्पणी गरेका थिए । सोही विषयमा अध्यक्ष ओलीले नेकपा एमालेको बिरुद्धमा झुटो बोलेर र बेइमानी गरेर कांग्रेसले नै गालीको कुटिर उद्योग चलाएको बताए । 

‘अस्ति एउटा थोत्रा पार्टीको मान्छेले एउटा ठिटाले मलाई गाली गरेको सुनेथेँ । गालीको कुटिर उद्योग बन्द हुन्थ्यो, कुटिर उद्योग नै होइन नि यो । किन चलाउनुपर्छ उद्योग । चलाउनै पर्दैन नि ! गालीको कुटिर उद्योग त उनीहरुले चलाइरहेका छन् । हाम्रा विरुद्ध झुट बोलेर, बेइमानी गरेर । त्यो सारा सुनका केजाति लगाइदिने, फोटो बनाउने, सुनैसुनका । संसारमा कसैले त्यस्तो गहना लाएको देखेको छैन,’ उनले भने । 

अध्यक्ष ओलीले कांग्रेस विचार नभएको पार्टी हो भन्दा कसरी गाली भयो ? भन्दै उनले प्रश्न गरे । कांग्रेस नयाँ विचार बोकेको र ल्याइरहेको पार्टी हो भनेर आफूले झुटो बोल्न नसक्ने उनले बताए । ०८१ साललाई शुद्धीकरण र सुदृढीकरणको वर्ष बनाउने उनले बताए । 





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार २०:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया