बाजुरामा शैक्षिकसत्रअगावै पुग्यो पाठ्यपुस्तक

नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् । 

जिल्लाको तल्लो क्षेत्रका बूढीगङ्गा, त्रिवेणी र बडीमालिका नगरपालिकाका साथै खप्तड छेडेदह र गौमूल  गाउँपालिकाका सामुदायिक विद्यालयमा जनकशिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता करुणा पुस्तक पसलले पाठ्यपुस्तक खरिद गरी पुर्‍याएको हो ।

पूर्वी उत्तरी भेगका चार पालिकाका सामुदायिक विद्यालयमा पनि पाठ्यपुस्तक वितरण गर्न थालिएको छ । यहाँका बूढीनन्दा नगरपालिका तथा हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा रारा कर्णाली पुस्तक पसल कोल्टीले जिम्मेवारी लिएसँगै वितरण सुरु गरिएको जनाइएको छ । 

प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पुस्तक पाइएको पशुपति माविका प्रधानाध्यापक दयाराम जोशीले बताए । शैक्षिकसत्र सुरु हुनुभन्दाअगावै पाठ्यपुस्तक पुगेको भन्दै केही अपुग भएमा विद्यार्थी भर्नापश्चात् सोहीअनुसार पुनः माग गर्न सकिने प्रअ जोशीले बताए । समयमै पुस्तक पुगेसँगै शैक्षिकसत्र सहजरूपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

विगतका वर्षमा शैक्षिकसत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो । आगामी शैक्षिकसत्र २०८१ का लागि भने विद्यालयमा चैत १५ गते नै पुस्तक पुगिसकेको प्रअ जोशीले जानकारी दिए । जनकशिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले यही चैत १३ गते सुदूरपश्चिम प्रदेशको बाजुराबाट वितरण सुरु गरेको जनाएको छ । 

जिल्लामा एक लाख १० हजार ३७ थान पाठ्यपुस्तक पुगिसकेको कार्यालयका प्रमुख रामबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार बाजुरामा आठ बिक्रेतामध्ये सात जनाले पुस्तक लिइसकेका छन् भने एक जना लिने क्रममा छन् ।



बाजुरामा वि.सं २०८१ का लागि अनुमानित एक लाख २७ हजार आठ सय छ थान पाठ्यपुस्तक रहेको कार्यालयका प्रमुख कुँवरले बताउनुभयो । सोमध्ये ८६ प्रतिशत पुस्तक जिल्लामा पुगिसकेका भन्दै बाँकी केही दिनमा पुग्ने उनले जानकारी दिए । 

करुणा पुस्तक तथा डेल्टा स्टोरका सञ्चालन नृप खातीका अनुसार पहिलो पटक बाजुराका विद्यालयमा चैत महिनामै पाठ्यपुस्तक पुगेका बताए । केन्द्रले प्रदेशका विकट तथ दुर्गम गाउँलाई पहिलो प्राथमिकतामा राखेर पुस्तक बिक्री तथा वितरण सुरु गरिएको जनाएको छ । बाजुरापछि दार्चुला र बझाङमा पनि वितरण भइसकेको प्रादेशिक कार्यालयका प्रमुख कुँवरले जानकारी दिए । 



उनका अनुसार दार्चुलामा ९१ हजार चार सय ८६ थान र बझाङमा २६ हजार ५१ थान पुस्तक पठाइसकिएको छ । सबै जिल्लामा चैत महिनाभित्रमा पुस्तक पठाइसक्ने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

आगामी शैक्षिकसत्र २०८१ का लागि सुदूरपश्चिममा १९ लाख १५ हजार एक सय ८५ थान पुस्तक आवश्यकपर्ने अनुमान गरिएको छ । बाजुरामा ढुवानीबापत १६ प्रतिशत खर्च जनकशिक्षाले दिनेछ ।

चैत महिनाभित्रै १९ लाख १५ हजारभन्दा बढी थान पुस्तक बिक्री भइसक्ने शिक्षा सामग्री केन्द्र धनगढीले दाबी गरेको छ । केन्द्रले चालु शैक्षिकसत्रमा १७ लाख ४१ हजार ७८ थान पुस्तक बिक्री गरेको थियो ।

पाठ्यपुस्तक खरिद गर्न सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा बजेट निकासा भएको छैन् । नेपालको संविधान २०७२ मा माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई छ ।

प्रदेशका स्थानीय तहले पुस्तक खरिदका लागिसमेत बजेट विनियोजन र निकासा नगरेको पाइएको छ । ८८ स्थानीय तहमध्ये अधिकांशले बजेट विनियोजन र निकासा गरेका छैनन् । रासस 

  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १२:५०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया