पर्वतमा वृद्धदम्पती हत्या : अनुसन्धान गर्न कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा

पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वृद्ध दम्पती मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा आइपुगेको छ । 
    
स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६७ वर्षीया श्रीमती कमला जिसी आज घरमै मृत अवस्थामा भेटिएका थिए । उनीहरुको हत्या भएको प्रारम्भिक अनुमानपछि प्रदेशबाट विज्ञ टोली बोलाइएको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । जिसी दम्पतीको सोमबार राति कसैले हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । 

‘गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुुकुरसहितको विज्ञ टोली घटनास्थलमा आइपुगेको हो,’ प्रहरी नायब उपरीक्षक भुसालले भने, ‘घटनास्थल प्रहरीको नियन्त्रणमा छ ।’ घटना रहस्यमय देखिएकाले अनुसन्धान गर्न विशेषज्ञको टोली बोलाइएको उनले बताए । 

मृतक जिसी दम्पतीका दुई छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा छन् । एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन् । बेनीबजार पसल गरेर बस्ने जेठो छोरा रविन जिसीले घरमा बुबा आमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई बुझ्न लगाएका थिए । 

छिमेकीले घरको ढोकामा चाँबी लगाएको सुनाएपछि छोरा रबिन बेनीबाट गाउँ पुगेर घरको ढोका खोल्दा बुबा आमा मृत अवस्थामा भेटिएका थिए ।

जलजला गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश जिसीले घरमा जिसी दम्पती मात्र बस्ने गरेको बताए । ‘सोमबार बेलुका ८ः३० बजेको समयमा सूर्यबहादुरले मलाई फोन गरेर घर नजिकको पाखोमा डढेलो लागेको जानकारी दिनुभएको थियो,’ उनले भने, ‘पाखोमा लागेको डढेलो निभाउँदै हुनुहुँदो रहेछ, मैले डढेलो निभाउन अरु मानिस चाहिन्छ ? भनेर सोध्दा, पर्दैन निभ्न लागेको छ भन्नुभएको थियो ।’
    
हरेक दिन बिहान आमासँग कुराकानी हुने भए पनि आज बिहान आमाको फोन नआएपछि आफूले फोन गर्दा नउठेको जेठा छोरा रविन जिसीले बताए । फोन नउठेपछि म्याग्दीमै बस्ने माइली बुहारीसहित रविन घर पुग्दा आमाबुवा दुवैजना बीभत्स अवस्थामा मृत भेटिएका थिए । 





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार २२:१३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया