सडक सञ्जालमा जोडियो म्याग्दीको खिवाङ, १८० परिवार लाभान्वित

म्याग्दीको विकट क्षेत्र मानिने धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो । 

धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष याम घर्तीमगरले लामो छहरा केङ्कीबाट खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको जानकारी दिए । ‘खाम्ला–केङ्की–नाउरा हुँदै बगर जोड्ने मूल सडक निर्माण भइरहेको छ’, उनले भने, ‘केङ्कीबाट खिवाङ जोड्ने शाखा सडक निर्माण हालै पूरा भएको हो ।’ 

सडक निर्माण भएपछि खिवाङका १ सय ८० घरपरिवार लाभान्वित भएका उनले बताए । सो सडकमा मोटरसाइकल, जिप र ट्रयाक्टर चल्न थालेका छन् । ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ५३ मेगावाटको अपर म्याग्दी (१) र ३७ मेगावाटको अपर म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीको संयुक्त लगानीमा खिवाङलाई सडक सञ्जालले जोडिएको गाउँपालिकाले जनाएको छ ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हालसम्म सडक नपुगेको खिवाङ गाउँलाई यातायात सञ्जालमा जोड्न निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरिएको बताए । अपर म्याग्दी जलविद्युत् आयोजनाका संयोजक सुरेश घलेले सामाजिक सहयोग कार्यक्रमअन्तर्गत विकट गाउँ खिवाङ जोड्ने सडक निर्माण गरेको बताए । गाउँपालिकाको सक्रियतामा खाम्ला हुँदै खिवाङ जोड्ने सडक पनि निर्माणाधीन छ । 

जलविद्युत् आयोजनाले नाउरा हुँदै बगरगाउँ जोड्ने सडकको ट्रयाक खोल्ने कामलाई पनि अन्तिम चरणमा पुर्याएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । रासस





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार ७:२७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया