मौलिक नाम नराख्ने विद्यालयको भर्ना प्रक्रिया रोक्ने महानगरको चेतावनी

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयलाई नेपालीपन झल्किने गरी नामकरणको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

यसअघि महानगरले चैत १५ गते एक सूचना प्रकाशन गरी अधिकांश संस्थागत विद्यालयको नाम विद्यालय शिक्षा व्यवस्थापन नियमावली–२०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नदेखिएको जनाउँदै एक महिनाभित्र नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो ।

एक महिनाको समय दिएको महानगरले पहिलो सूचना प्रकाशन भएको एक साता नबित्दै बुधबार अर्काे सूचना जारी गरेर सात दिनभित्र नामकरणको प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विदेशी नामलाई निरुत्साहन गर्न यस्तो नीति लिएको जानकारी दिए । उनका अनुसार महानगरभित्रका सबै शैक्षिक संस्थाले नेपालीपन झल्किने गरी नाम राख्नुपर्नेछ ।

नामकरण प्रक्रिया अघि बढाउन महानगरले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र महानगरअन्तर्गतको शिक्षा विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ ।
शिक्षा विभागमा सम्पर्क गरी मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने चेतावनीसमेत महानगरले दिएको छ ।

विद्यालयको मौलिक नामकरणको लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शिक्षा विभागमा निवदेन दिनुपर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ । 



अन्यथा यसै सूचनालाई आधार मानी शिक्षा नियमावली २०५९ र काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ तथा प्रचलित कानुन बमोजिम आवश्ययक कानूनी प्रक्रिया अघि बढाउने चेतावनी महानगरले दिएको छ ।

शिक्षा नियमावली २०५९ को नियम १५४ को उपनियम १ मा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा एतिहासिक व्यक्ति, देवदेवी, तीर्थस्थल वा प्राकृतिक सम्पदाको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न सकिने उल्लेख छ ।



त्यस्तै, काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० को उपनियम १ मा पनि सोही कुरा उल्लेख गरिएको छ । उपनियम २ मा भने कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ विद्यार्थी पूर्णछात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने उल्लेख छ ।

त्यस्तै, कसैले विद्यालयको नाममा नेशनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ भने कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेको खण्डमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने सोही उपनियमा स्पष्ट रूपमा उल्लेख गरिएको छ । तर, हाल सञ्चालित विद्यालयले नियमावलीलाई बेवास्ता गर्दै आफूखुसी, नेसनल, इन्टरनेसनल राख्ने गरेका छन् ।

विद्यालयको नामको अन्तिममा विद्यालय, स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्ने नियमावलीमा लेखिएको छ । तर, विद्यार्थी र अभिभावकबाट कसरी धेरैभन्दा धेरै पैसा असुल्ने भनेर सोच्न भ्याई–नभ्याई हुने निजी स्कुल सञ्चालकहरूले नियमावली हेर्न फुर्सद पाएका छैनन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएदेखि नै शैक्षिक क्रियाकलापलाई प्राथमिकतामा राखेका बालेन्द्र साहले पछिल्लो समय महानगरभित्रको शैक्षिक सुधारलाई तीव्रता दिएका छन् ।

  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १६:४०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया