पोखरा महानगरले अदालतको आदेश पालना नगरेको भन्दै स्थानीय आन्दोलित

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वोच्च अदालतको आदेशलाई अवहेलना गरी फेवाताल सिमसार क्षेत्रका जग्गा भोगचलनमा रोक लगाएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।  

आन्दोलित स्थानीयले मेयर आचार्यले फेवातालको संरक्षण र संवर्द्धनमा लाग्नुको सट्टा उल्टै फेवाताल देखाएर सिमसारको नाममा स्थानीयलाई तर्साए र उठीबास लगाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन ।

सर्वोच्च अदालतले फेवातालको ६५ मिटर मापदण्डभित्र रहेका संरचना हटाउन दिएको आदेशको अहिलेसम्म कार्यान्वयन गर्न भने महानगरले सकेको छैन । स्थानीयले अदालतको आदेश पालना नगर्ने, पहुँच र सम्बन्ध नपुग्नेलाई व्यक्तिगत जग्गा भोगचलन गर्न रोक लगाई अधिकारबाट वञ्चित गराउने, अनुहार, पहुँच, आदेश र मुखको भरमा कानुन स्थापित गर्ने पोखरा महानगरको विभेद र ज्यादती अन्त्यको लागि भन्दै फेवातालका उपल्लो क्षेत्रका बासिन्दा एकजुट भएका छन् । 

महानगरको ज्यादतीविरुद्ध सशक्त रुपमा आन्दोलनको उत्रने स्थानीयले बताएका छन् । फेवाताल क्षेत्रका स्थानीय युवराज खतिवडाले पोखरा महानगरपालिकाले अदालतको आदेश पालना नगरेको बताए । उनले महानगरले आवासीय जमिनमा हक जमाउन खोजेको बताए । स्थानीय खतिवडाले फेवाताल क्षेत्रको आवासीय जग्गा सुरक्षित गर्नको लागि प्रयोग गर्दा नियन्त्रणमा लिएका सवारीसाधन फिर्ता गर्न अदालतले आदेश दिँदासमेत पालना नगरेको बताए । 

उनले जग्गाका मोहीहरू सम्बन्धित निकायमा न्यायको लागि जान तयार रहेको बताए । खतिवडाले फेवातालभन्दा ५ किलोमिटर माथि रहेको जग्गामा समेत महानगरले हक जमाउन खोजेको बताए । उनले मेयरको प्रिय बन्न नसक्दा आफ्नो जग्गा आफैंले पाउन नसकेको बताए ।   

स्थानीय गीता भुजेलले पनि फेवातालभन्दा ५ किलोमिटर माथि रहेको आफ्नो जग्गाको भोगचलन गर्न पाउनुपर्ने बताइन् । उनले जग्गामा प्लटिङ गरेर अन्य सबैले आफ्नो तरिकाले भोगचलन गरे पनि आफूहरूले प्लटिङ गरेर खेती गर्न महानगरले नदिएको गुनासो गरिन् ।  



अर्का स्थानीय देवीलाल लामिछानेको पनि त्यस्तै गुनासो रहेको छ । उहाँले उच्च अदालतले फेवाताल क्षेत्रका तिरो तिरेका र लालपूर्जा भएका जग्गा हक भोग गर्न दिन आदेश दिए पनि महानगरले ज्यादती गरेर रोक लगाएको बताए । उनले जग्गाको रातोकिताब सिरानीमा राखेर हिँडिरहेको बताए ।  

महानगरपालिकाले आफ्नो चित्त नबुझ्ने र पहुँच नपुग्नेलाई डोजर लगाइ रोक लगाएको उनीहरूको आरोप छ । महानगरका मेयर आचार्यले आफ्नो चित्त बुझाई दिनेलाई प्लटिङ गरेर जग्गा कारोबार गर्न खुला छोडेको आरोप लगाए । उनीहरूले आवास क्षेत्रलाई मेयर आचार्यले हचुवाका भरमा सिमसार भन्दै स्थानीयलाई अनावश्यक दुःख र हैरानी दिँदै आएको बताए । 



वर्षौंदेखि जमिनको उपभोग गर्दै महानगरमा तिरो तिर्दै आएका जग्गाधनीलाई आफूखुसी भोगचलन गर्न रोक लगाउन नपाउने उनीहरूको माग छ ।  

  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार १६:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया